आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था ।
हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी मुश्किलले चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका सो स्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ । कालीगण्डकी तटमा रहेका मुहानलाई एकीकृत गरी त्यहाँ पानी पु¥याइएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो ।

जिल्लामै पहिलोपटक खानेपानीका लागि लिप्mटिङ प्रविधि भित्राइएपछि अब भने घरघरमै पानी आउने भएको छ । चैत्रभित्रै त्यहाँ घरघरमा कालीकिनारको पानी पुग्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनुभयो । आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएकोे गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताउनुभयो ।

नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । कालीगण्डकी तिरबाट ३९० मिटरको सिधा उचाइमा पर्ने पानी ट्याङ्कीमा दुई हजार ७०० मिटर दूरीको पाइपले पानी तान्नेछ । मुहान र पाइपलाइनको मध्यभागमा दुई वटा मोटर जडान गरेर मुख्य ट्याङ्कीसम्म पानी पु¥याइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

यो योजना निर्माण गर्नका लागि झण्डै रु आठ करोडभन्दा धेरै खर्च भएको छ । सुरुआती लागत भने रु १० करोड माथिको थियो । रु ६ करोड ६२ लाखमा चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो । विसं २०७३ मा शुरु भएको निर्माणको काम कम्पनीले एक वर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो । उपभोक्ताले गर्नुपर्ने र विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्नेगरी काम भइरहेको संस्थाका सचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कूल लागतको ७० प्रतिशत सरकारको, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका एक हजार ५२५ घरघुरीका करिब पाँच हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । योजनामार्फत ३० हजार २०२ मिटर पाइप लाइन विछ्याउने काम भएको छ भने एक हजार २५ धारा निर्माण गरिनेछ । योमध्ये ९५० भन्दा धेरै धारा जडान भइसकेको संस्थाले जनाएको छ । विद्युत्को परीक्षण र प्रसारको काम मात्रै बाँकी रहेकाले विद्युत् प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाइ छ ।

“एक घर एक धारा चौबिसैँ घण्टा पानी आउँछ” उहाँले भन्नुभयो “२० बर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।” यो योजना सो स्थानका नौवटै र पैयुँपाटाका ८ र ९ वडामा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड ८ लिटर पानी तान्ने छ । यसभन्दा पहिले धारापानीबाट २ दशमलव ५ र धापेखोलाको पानी ३ लिटर प्रतिसेकेण्ड ट्याङ्कीमा जम्मा हुने गरेको छ । तीनवटै पानीलाई एकीकृत गरेर उपभोक्तालाई वितरण हुनेछ । उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० वटा भल्भ च्याम्बर निर्माण भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ