विराटनगर, फागुन १९ गते । कोराना भाइरस प्रकोपसँगै खाद्य वस्तु उत्पादन गर्ने उद्योगको कच्चाको मूल्य आकासिएको उद्योगीहरुको दावी छ ।
चिनबाट आयात गरिने जुस, बिस्कुट, खाद्यतेल र नुडल्सको कच्चाको मूल्य ह्वात्तै बृद्धि भएको उद्योगीहरुले बताएका हुन् ।
पछिल्लो १५ दिनयता यस्ता वस्तु आयातमा समस्यासँगै त्यसको बजार मूल्यमा समेत बृद्धि भएको उद्योगीहरुले बताउँछन् । नुडल्सको कच्चा मोनो सोडियम ग्लुटामेटको मूल्यमा प्रतिकेजी ५० रुपिँयाको अन्तर आएका क्वालिटी चाउचाउ उद्योगका सञ्चालक एवं उद्योग संगठन मोरङका सदस्य विपिन काबराको दावी छ ।
यस अगाडीसम्म ग्लुटामेट प्रतिकेजी १८० रुपिँया रहेको थियो । पछिल्लो १५ दिनमा यसको मूल्य २३० रुपिँया पुगेको काबराले बताउनुभयो । यसैगरी खाद्यतेल उद्योगको कच्चा पदार्थ फस्फोरिक एसिड प्रति किलोग्राम १२० बाट २५० रुपिँया भएको छ । नुडल्स र चाउचाउ उद्योगमा चाहिने ह्विट ग्लुटेन समेत १८० रुपिँयाबाट ३०० रुपिँया प्रतिकेजी पुगेको छ । यसैगरी ओनियन सिड समेत ६ सयबाट ८ सय प्रतिकिलोग्राम पुगेको काबराको दावी छ ।
चाउचाउ उद्योगको कच्चा जस्तै बिस्कुट उद्योगमा मैदा फुलाउन प्रयोग गरिने अमोनियम बाई कार्बोनेटको मूल्य ८०० प्रतिबोराबाट तीन हजार पुगिसकेको उद्योगीहरुको दावी छ । कच्चा पदार्थको मूल्यमा भएको अस्वभाविक बृद्धिले उत्पादन लागतमा प्रभाव पार्ने भएपछि उद्योगीहरु समेत समस्यामा परेको गुनासो गर्दै आएका छन् ।
नेपाल उद्योगवाणिज्य महासङ्घ प्रदेश नम्बर १ का सदस्य श्रवण अग्रवालले चिनबाट पैठारी गरिने औद्योगिक मेसिनरी र स्पेयर पार्टस समेत महंगो भईरहेको बताउनुभयो । उहाँका अनुसार एकहप्ता अगाडीसम्म चिनका निर्यातकर्ता सम्पर्कमा समेत नरहेपनि अहिले विस्तारै कुराकानी हुन थालेको छ ।