फागुण १८ काठमाण्डौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्म ओलीले नमान्ने भने पछि आन्तरीक विवाद चुलिएका बेला नेकपाको सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्ने गत बुधबारको निर्णयलाई कार्यान्वयन गराउने विषयमा केन्द्रीत रहने जनाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय मान्न मन्त्रिपरिषद् बाध्य नहुने बताउँदै आएका छन्। उनले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन चाहेका छन्। पछिल्लो समय उनले तत्कालका लागि वामदेव र खतिवडा दुबै जनालाई नै सिफारिस नगर्ने मनस्थिति बनाएको बालुवाटार स्रोतको भनाइ छ।
वामदेवलाई राष्ट्रिय सभामा नपठाउने प्रधानमन्त्रीको अडानमा सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मात्र साथ दिएका छन्।