माओवादी जनयुद्धको पहिलो शहीद दिल बहादुर रम्तेल जसलाई मुख्य नेताहरुले बिर्सिए !

माओवादी जनयुद्धको पहिलो शहीद दिल बहादुर रम्तेल जसलाई मुख्य नेताहरुले बिर्सिए !

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 64K
    SHARES

फागुण १४ काठमाण्डौं । ०५२ साल फागुण १ मा तात्कालिन नेकपा माओवादीले जनयुद्ध शुरु गरे पछि राज्यको दमनमा पहिलो पटक मारिए गोरखाका दिल बहादुर रम्तेल । उनी ११ बर्षका थिए । गोरखामै बसेको बैठकले माओवादी जनयुद्धमा जाने निर्णय गरेको थियो ।
त्यही भएर होला जनयुद्धको रक्तपातपूर्ण दमन पनि रमतेलको हत्याबाट शुरु गर्यो राज्यले । स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरे पछि ती शिक्षकलाई छुटाउन धर्नामा बसेका बेला प्रहरीले आजकै दिन रम्तेलको हत्या गरेको थियो ।
उनै दिल बहादुरको सम्झना र २९ सालमा झापाका नेत्र घिमिरे लगायत ४ जना बन्दीहरुलाई झापा चन्द्रगढीबाट ईलाम सार्ने भनेर लगेर सुखानीको जंगलमा फागुण २१ गते चार जना झापा विद्रोहका नेताहरुलाई हत्या गरिएको थियो ।
त्यसैलाई जोडेर माओवादीले जनयुद्ध कालदेखि नै फागुण १४ देखि २१ गतेलाई शहीद सप्ताहको रुपमा मनाउने गरेको थियो ।
तर जनयुद्धको मुख्य नेतृत्व पूर्व एमालेसगँ पार्टी एकता गरे पछि भने जनयुद्ध दिवस, शहीद दिवस जस्ता कार्यक्रम गर्न छाडेको छ । पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा धुम्बाराही कार्यलयमा फागुण १ गते जनयुद्ध र जनआन्दोलनका शहीदहरुका लागि श्रदाञ्जली सभा गरेको थियो । उसले नत जनयुद्ध दिवस मनाउन सकेको छ न त शहीद सप्ताह नै ।

कसरी मारिएका थिए दिल बहादुर ? राम भट्टले दिल बहादुर रम्तेलको सम्झनामा लेखेको पत्रको केही अंश:

राम भट्ट

दिल बहादुर, तिमी मेरो मिल्ने साथी थिर्यौ । उमेर र कक्षा नमिले पनि हाम्रो दौतरी मोजाको फुटबल खेल्ने बेला देखि नै मिल्थ्र्यौ । गाउँ कै ब्रम्हचारिणी स्कुलबाट हाम्रो भेट भयो र बिछोड पनि । अझै मन कटक्क दुख्छ ,त्यो दिन सम्झँदा जुन दिन हामी अनाहकमै कक्षा छोडेर रमिता हेर्न गयौं । नजाने पनि कुनै कारण थिएन , अरु सबै साथीहरु पनि त गएकै थिए । पहिलो पल्ट गाउँमा पुलिसले मान्छे समातेको समाचार सुन्नमा आयो । अर्को विद्यायका वीरबहादुर प्रिन्सिपललाई समातेको हेर्न र हुल बाँधेर मान्छे गए छोइदिन्छन् भनेर हामी पनि गएका थियौं । कति अजिवको रमिता थियो त्यो पुलिसले मान्छे समातेको । सायद, समातिएका सर छोडेको भए ?पुलिसले अन्धाधुन्ध गोली नचलाएको भए ?तिमीलाई र मलाइ गोली नलागेको भए ?आहा कति रमाइलो रमिता हुन्थ्यो त्यो क्षण ।
अझै सम्झन्छु दिल, जब जोडले कुनै कुरा पड्केको आवाज आयो, मेरो पेटमा केहि कुराले छेडिसकेको थियो । तिमी माथिल्लो गरामा लडिसकेका थियौ । हामीलाई गोली लागेको खबर सुन्ने बितिकै मेरो बुबा आएर मलाई उपचारका लागि लिएर गए तर तिमीलाई उपचारका लागि लाने मान्छे खोज्न हम्मे पर्यो । तल्लो जातको भएकै कारणले तिमीलाई त्यही छोडेर गए । कसैले छुन मानेनन् , तिम्रा बुबा आफनो मान्छे खोजेर आउँदा ढिला भैसकेको थियो । पछि सुन्छु, मलाइ त्यही रात काठमाडौं पुर्याए तर तिमीले बीच बाटोमै प्राण त्याग्यौं । मलाई अझै सम्म मन भित्र गड्ने कुरा नै यही बन्यो की मेरो बाल्यकालको मिल्ने साथी दलित कारण समयमा उपचार नपाएर मर्नु पर्यो । यो समाजले तिमीलाई जनयुद्धको प्रथम सहिद बनाइदियो र मलाई प्रथम घाइते ।
समाजले के भन्ला भन्ने प्रवाह नगरी हामी संगै खेल्थ्यौं, संगै खान्थ्यौं । मलाई अझै याद छ जब हामी खेलेर हाम्रो घर आएर पानी खान्थ्यौं आमाले तिमीलाई अम्खोरा छुन दिनुहुन्नथ्यो तर म तिमीलाई लुकाएर दिन्थे ।
दिल, गोलीले जरजर बनाएको मेरो ज्यान अझै निको भइसकेको जस्तो लाग्दैन । बिसेक होला भन्ने पनि लाग्दैन । नियमति औषधि खाएर बसेकै छु । कहिलेकाहीँ त लाग्छ तिमीसंगै बर मरेर गएको भए यत्रो सास्ती त भोग्नु पर्दैनथ्यो । उहिले घाउबाट पीप निस्किँदा स्कुलमा सबैले “अब रामे मर्छ” भनेर जिस्क्यिाउँथे । आजभोली समाजले “जिउँदो शहीद” भनेर गिज्याउँछन् । राम्रो ओखतीमुलो नपाएरै त मलाई सबैले गिज्याए जस्तो लाग्छ । नत्र त थोरै भए पनि सम्मान त मिल्थ्यो होला नि ! हगी ?
देशमा यत्रो परिवर्तन ल्याउने क्रममा बलिदानी दिएको तिम्रो त्यागको कदर किन गरिदैन ?किन तिम्रो घरको हालत अझै उस्तै छ जस्तो ५२ को आसपास थियो ?किन अझै सेते काका बुढो ज्यान लिएर खेतमा जोतिनु हुन्छ ?किन सरीमाया काकी अझै एक गाग्री पानी थाप्न उकालो ओरालो गर्नुहुन्छ ?यो सबै देख्दा तिमीलाई पनि समाजले गिज्याएजस्तो लाग्छ ।

दिल बहादुर रम्तेलको बुवा सेते रम्तेल र आमा सरीमाया रम्तेल

त्यो १० वर्षको बीचमा हजारौं परिवारमा हाम्रो जस्तै पीडा थपियो । तिमी जस्ता हजारौं मरे, म जस्तो हजारौ घाइते बने । आज पनि छोरा गुमाएका हजारौ आमाबुबाहरु आफनो सन्तानलाई किन मारियो भन्ने जवाफ कुरिरहेका छन् । अझै कति कुर्नुपर्ने हो , त्यो थाहा छैन । तर तिम्रो सम्मानको लागि र हामीले पाउनुपर्ने न्यायको लागि भने सदैव लड्ने नै छु । निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैँ सम्झिन्छु …………

गत बर्ष आर्ट कला परिषद्मा प्रदर्शनीमा राखिएको थियो यो पत्र ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ