झ्यालबाट संसद् छिर्ने हठमा वामदेव, नेम्वाङले ठाडै अस्वीकार गरेपछि सपना फेरि भुमरीमा

झ्यालबाट संसद् छिर्ने हठमा वामदेव, नेम्वाङले ठाडै अस्वीकार गरेपछि सपना फेरि भुमरीमा

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडाैं, १३ फागुन ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन नपाउने संवैधानिक व्यवस्था पनि परिवर्तन गर्न नेकपाले कार्यदल बनाएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाए पनि यो विषय गोप्य राख्ने निर्णय पार्टीले गरेको थियो । सोमबार नेता नेपालले कार्यदलको पहिलो बैठक बस्न नेम्वाङ र देवकोटालाई आफ्नो निवास कोटेश्वर बोलाएका थिए । तर, नेम्वाङले कार्यदलमा बस्न ठाडै अस्वीकार गरे । स्रोतका अनुसार उनले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने विषय अनुचित भएको भन्दै आफू त्यसमा सहभागी नहुने स्पष्ट पारे । ‘एउटा व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने प्रक्रियामा म सामेल हुन्नँ, मेरो अनुरोध छ, यस्तो विषयको अगुवाइ गरेर तपाईं पनि कलंक नबोक्नूस्,’ स्रोतका अनुसार नेता नेपाललाई नेम्वाङको सुझाब थियो । नेम्वाङको अडानपछि कार्यदल अलपत्र परेको छ ।

गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमले प्रतिनिधिसभा सदस्य बन्न पटकपटक गरेको कोसिस असफल भएपछि राष्ट्रिय सभामा प्रवेश गर्ने रहर गरेका हुन् । यसका लागि नेकपा नेतृत्व सहमत छ । तर, उनले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउनुपर्ने हठ गर्दै आएका छन् । यसमा पनि पार्टीको मूल नेतृत्व सहमत भए पनि कार्यकर्तापंक्ति र जनमानस विरोधमा छ ।

संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्वाङले ठाडै अस्वीकार गरेपछि वामदेवको सपना फेरि भुमरीमा, नेम्वाङले व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्न माधव नेपाललाई पनि सुझाब दिए

बर्दिया २ बाट उम्मेदवार बनेका नेता गौतम कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग सात सय ५३ मतान्तरले पराजित भएका थिए । वामदेवले ४४ हजार ७६ र सञ्जयले ४४ हजार ८ सय २३ मत प्राप्त गरेका थिए । हारलगत्तै नेता गौतमले आफूविरुद्ध पार्टीभित्रैबाट अन्तर्घात भएको बताएका थिए । केही दिनपछि बालकोटस्थित निवासमै पुगेर उनले अध्यक्ष ओलीसमक्ष अन्तर्घातको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका थिए । प्रदेश कमिटीले तीन सदस्यीय छानबिन समिति बनाएर केही स्थानीय नेता–कार्यकर्ताको बयान पनि लियो तर, छानबिन पुरा नहुँदै गौतमले संसदमा ‘ईन्ट्री’ का लागि कसरत सुरु गरे ।

०७५ साउनदेखि गत असोजसम्म उनले आफ्नालागि आधा दर्जन निर्वाचन क्षेत्र खोजी गरे । त्यसमा पार्टीका कतिपय नेताहरूले पनि साथ दिए । सुरुमा गौतमले डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर संसदमा आउने कोशिष गरे । त्यसमा बुढाले पनि सुरुमा सहमति जनाएका थिए । निर्वाचन क्षेत्र छाड्ने शर्तमै गौतमको जोडबलमा बुढालाई संस्कृति, पयर्टन तथा नागरिक उडड्यन राज्यमन्त्री पनि बनाइएको थियो । तर, ‘मतदातालाई सम्झाएर आउँछु’ भन्दै जिल्ला गएका बुढा काठमाडौं फर्किदा राजिनामा नदिने बलियो मनस्थितिहित फर्किए । जिल्ला नेतृत्वले नै सीट खाली नगर्ने अडान लियो । चुनावी हारपछिको अर्को धक्का खाए गौतमले ।

त्यसपछि पनि गौतमले अन्य क्षेत्रहरू खोज्न छाडनन् । दैलेख–१ का रविन्द्रराज शर्मा, बाँके–३ का नन्दलाल रोकायाहुँदै पूर्वी रुकुमबाट कमला रोका, प्युठानबाट दुर्गा पौडेलसम्मलाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउने चर्चा चल्यो । यि सीट खाली गर्न नेकपाकै केही शीर्ष नेताले भित्रभित्र पहलसमेत गरेका थिए । दैलेख–१ का शर्मासँग त महासचिव विष्णु पौडेल आफैले कुराकानी पनि गरेका थिए । तर, कुनै पनि सांसद राजिनामा दिन तयार भएनन् ।

त्यसपछि अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर गौतम काठमाडौं–७ बाट चुनाव लड्ने निष्कर्षमा पुगे । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले २३ असोज ०७५ मा पत्रकार सम्मेलनमार्फत राजीनामा दिन लागेको घोषणा पनि गरे । तर, प्रधानमन्त्री ओलीको सहमतिबिनै योजना सार्बजनिक भएपछि पार्टीभित्रै गौतमको आलोचना भयो । २५ असोजमा बसेको सचिवालय बैठकमा गौतम स्वयंले आफू ‘ब्याक’ हटेको जानकारी गराए ।

काठमाडौंबाट चुनाव लड्ने बाटो पनि बन्द भएपछि गौतमले प्रधानमन्त्री ओली सामू स्वतन्त्र हैसियतको शक्तिशाली विकास निर्माण प्राधिकरणको प्रमुख हुने चाहना व्यक्त गरेका थिए । प्राधिकरण गठनका लागि आफूले प्रस्तावै बुझाए पनि बेवास्ता गरिएको भन्दै पछि ओलीसँग रुष्ट बनेका थिए । त्यही भएर उनले २९ मंसिरदेखि १२ पुस ०७५ मा बसेको तेस्रो स्थायी समिति बैठकमा दुई अध्यक्षबीच कार्यविभाजन हुनुपर्ने भन्दै १६ पेजको पुरक राजनीतिक प्रतिवेदन नै प्रस्तुत गरेका थिए । प्रतिवेदनमार्फत उनले ओली नेतृत्वको सरकार असफल भएको दृष्टान्त पेश गरेका थिए ।

लामो समयसम्म गौतम चिढिएपछि अन्ततः ओली लचिलो बन्दै उनलाई नजिक्याउने रणनीतिमा लागे । ओलीकै प्रस्तावमा गत ३१ साउनमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदनका लागि स्थायी समितिमा लैजाने सर्बसम्मत निर्णय गरेको थियो । त्यही बैठकबाट पाचौं वरियताका गौतम पार्टीभित्र शक्तिशाली मानिने संगठन विभागको प्रमुखसमेत बने । गत १८ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गरेसँगै गौतम उपाध्यक्ष मनोनित भए ।

त्यसो त गौतमलाई साथमा लिन प्रधानमन्त्री ओलीले गत १४ मंसिरमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन पयर्टनमन्त्री रबिन्द्र अधिकारीको निधनबाट रिक्त कास्की–२ मा उम्मेद्वार बन्न प्रस्ताव गरेका थिए । गौतमलाई सांसद बनाउने योजना कार्यान्वयनका लागि साउन अन्तिमसाता प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई निवासमै बोलाएर प्रधानमन्त्री ओलीले असोजभित्र चुनाव गर्न सकिने÷नसकिने सम्भावनाबारे छलफल नै गरेका थिए । तर, आन्तरिक सर्बेक्षण र शुभेच्छुकहरूसँगको परामर्शपछि गौतम पछि हटे ।

पटक–पटक असफल भएपनि गौतमको संसद प्रवेशको कसरत भने रोकिएन । पार्टीभित्रको महत्वपूर्ण जिम्मेवारीपछि उत्साही बनेका उनले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई मनाएर राष्ट्रियसभामा जाने  र संविधान संसोधन गरेर प्रधानमन्त्री बन्ने महत्वाकांक्षा कायमै राखे । २४ पुसमा भैंसेपाटीस्थित गौतम निवासमा बसेको सचिवालयका बहुमत सदस्यहरूको बैठकमा उनलाई राष्ट्रियसभामा पठाउने भद्र सहमति भयो । बहुमत नेताहरूको साथ पाएका गौतमले पार्टीमा शर्त राखे–राष्ट्रिय सभाका सांसदले पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गरिनुपर्ने ।

गत २९ मंसिरदेखि ७ पुससम्म चलेको सचिवालय बैठकले गौतमकोे प्रस्तावमाथि सामान्य छलफल भए पनि संविधान संशोधनको प्रस्ताव अस्वीकार गरेको थियो । यद्यपि, गौतमको शर्तमा सकारात्मक बनेका प्रचण्डले पहल लिने आश्वासन दिए पनि सचिवालयमा संविधान संशोधनबारे सकारात्मक धाराणा बनेन । त्यसपछि १८ पुसको सचिवालय बैठकले गौतमबाहेक १६ जनालाई ९ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार तय ग¥यो । त्यही बैठकको निर्णयअनुसार सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

शीर्ष नेताहरू छलफलमा
संविधान संसोधन कार्यदलकै विषयमा सोमबार शीर्ष नेताहरूबीच छुट्टाछुट्टै छलफल भएका छन् ।  विहानै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भयो । स्रोतका अनुसार उनीहरूबीच गौतमलाई राष्ट्रियसभामा पठाउने र संविधान संसोधनको गृहकार्यका विषयमा कुराकानी भएको थियो ।

दिउँसो अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेता नेपालसँग छुट्टै छलफल गरे । नेपालसँगको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । स्रोतका अनुसार ओली, प्रचण्ड र नेपालबीचको बेग्लाबेग्लै छलफल गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिको मनोनयन कोटाबाट लैजाने पछिल्लो समझदारीपछिको बाहिरी प्रतिक्रियामा केन्द्रित थियो । प्रचण्डसँगको भेटअघि वरिष्ठ नेता नेपालले संसदीय दलका उपनेता सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई कोटेश्वर निवासमा बोलाएर भेटेका थिए ।

स्थायी समिति सदस्य मणी थापाले शीर्ष नेताहरू र समग्र पार्टीभित्रै देखिएका विवाद व्यबस्थापनको कार्डकै रुपमा गौतमलाई अघि सारिएको हुनसक्ने बताए । तर, पार्टीले गौतमलाई प्रधानमन्त्रीकै उम्मेद्वारका रुपमा अघि सार्छ भन्ने अबस्था अहिले नरहेको उनको बुझाई छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली, प्रचण्डदेखि माधव नेपालसम्मका नेताहरूमा ‘अबको प्रधानमन्त्रीको उम्मेद्वार हो’ भन्ने स्वीकारोक्ति रहेकाले भने गौतम सांसद बनेर प्रधानमन्त्री बन्ने योजनामा रहेको हुनसक्ने थापाले बताए । ‘पार्टीले निर्णय गरेको अबस्थामा भने उहाँ प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ’, उनले भने, ‘समग्र पार्टी र सचिवालयभित्रको द्वन्द्व व्यबस्थापनका लागि पनि वामदेव कमरेडलाई अघि सारिएको हुनसक्छ ।’

केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले भने विवेकहीन जमातले मात्र नेता गौतमलाई प्रधानमन्त्री बनाउने गरी सांसद बनाउन पहल गर्ने बताए । ‘पार्टीले उहाँलाई बनाउन(सांसद) खोजेको जस्तो मलाई लाग्दैन, बाहिरकै कुनै शक्तिले बनाउन खोजेको भए भन्न सकिने कुरा भएन’ थापाले भने, ‘अलोकतान्त्रिक, विवेकहीन समाजमा भए बेग्लै कुरा हो नत्र, जनमतबाट अस्वीकृत भइसकेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी सांसद बनाउने कुरा २१औं शताब्दीमा सोच्नसमेत सकिदैंन ।’

पार्टीले त्यस्तो निर्णय गर्नुअघि सचिवालयका नेताहरूले आफुलाई असक्षम घोषणा गर्नुपर्ने थापाले बताए । ‘एउटा व्यक्तिका लागि संविधान संशोधन गर्नेगरी सांसद बनाउने हो भने सचिवालयका जननिर्वाचित नेताहरूले पहिले आफूलाई असक्षम घोषणा गर्नुपर्ने हुन्छ, उनले भने, ‘सचिवालयको पछिल्लो प्रस्ताव जनताबाट म्याण्डेट प्राप्त ५ वर्षे सरकार बदल्ने, लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनका सबै उपलब्धि समाप्त पार्ने सोचबाट प्रेरित छ । वामदेवको बहुलठ्ठीपूर्ण, चरम आत्मकेन्द्रीत सोच पूरा हुने सम्भावना नै छैन ।’

गौतम निकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले सचिवालयका बाँकी सबै नेता सांसद बनिसकेकाले पार्टीले आवश्यकता ठानेरै मनोनित सांसदका लागि गौतमलाई प्रस्ताव गरेको हुनसक्ने बताए । संविधान संशोधन भएमात्रै गौतम प्रधानमन्त्री बन्ने उनले बताए । ‘संसदका दुई सदनमध्ये एउटाको सदस्य प्रधानमन्त्री बन्न पाउने, अर्काको बन्न नपाउने व्यबस्था विभेदकारी छ, भारतसहित धेरै देशमा यस्तो व्यबस्था छैन, त्यसैले संविधान संशोधन जरुरी छ भनेर मैले केन्द्रीय कमिटी बैठकमै कुरा उठाएको थिएँ । अहिले पार्टीले पनि आवश्यकता ठानेरै गौतमलाई प्रस्ताव गरेको होला भन्ने मलाई लागेको छ तर, प्रतिनिधिसभाबाट निर्वाचित सांसद मात्रै प्रधानमन्त्री बन्ने अहिलेको व्यबस्था संशोधन नभएसम्म उहाँ प्रधानमन्त्री बन्ने सम्भावना हुँदैन,’ उनले भने  ।

राजनीतिक विश्लेषक कृष्ण खनालले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्ने कुरा टिप्पणी गर्न पनि लाज लाग्ने विषय भएको बताए । ‘एउटा नेता विशेषकालागि भनेर संविधान संसोधन गर्ने विषयमा टिप्पणी गर्न लाज लाग्ने कुरा हो । एउटा नेताको लागि संविधान संसोधन हुन्छ भने संविधानको के अर्थ ? यो कुनै किसिमले औचित्यपूर्ण देखिंदैन,’ उनले भने ।

देशमा धेरै महत्वपूर्ण काम र कार्यभार हुँदाहुँदै राजनीतिक नेतृत्वको प्राथमिकता लज्जाजनक विषयतर्फ केन्द्रित  भएको खनालले बताए । ‘यो हुने कुरा होइन, वामदेवलाई बेवकुफ बनाउने भन्दा अर्को कुरा होइन । यस्ता गलत अभ्यासले संविधान दस्तावेज छ भनेर भन्ने ठाउँ नै बाँकी हुँदैन,’ उनले भने, ‘केटाकेटीलाई फकाउन खोजेको जस्तो काम हुँदैछ । साथै, अलिकता गम्भीरता भएको व्यक्तिले मेरा लागि संविधान संसोधन गर भन्दैन । संसोधनमा रमाउने, कहाँ पुग्यो भनेर चासो राख्ने गर्दैन । मलाई सांसद बनाउन संविधान संसोधनको प्रक्रिया कहाँ पुग्यो भनेर लाग्ने नेताको हर्कतले हाम्रो राजनीतिक धरातल कहाँ छ भन्ने देखाउँछ ।’

गौतम सांसद मात्रै होइन, देश हाँक्ने कार्यकारी बन्न चाहन्छन् । त्यसैले राष्ट्रिय सभाको सदस्य बन्न अध्यक्षद्वय ओली र प्रचण्डले आग्रह गर्दा उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधनको शर्त अगाडि सारेका थिए । शर्त स्वीकार नभएकै कारण उनी राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनेका थिएनन् । त्यतिबेला ओलीको प्रस्तावमा गौतमले भनेका थिए, ‘राष्ट्रियसभामा म त्यसबेला जान्छु, जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन् ।’

२१ मंसिरमा राससलाई दिएको अन्तर्वार्तामा पनि गौतमले आफु प्रधानमन्त्री बन्न चाहेको स्पष्ट पारेका थिए । ‘वामदेव गौतमले प्रधानमन्त्री बन्न हतार गरेको भनेर बुझ्दा के हुन्छ?’ गौतमको जवाफ थियो, ‘के फरक पर्‍यो त । वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो । म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई । विसं २०७४ को निर्वाचनमा अध्यक्ष ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईंका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौं। अब पहिलो पटक प्रधानमन्त्री हुने तपाईं नै हो, तपाईं नै लाग्नुस्। उहाँहरूले नै भनेको हो। चुनावमा गइयो, हारियो ।’

पार्टीभित्रको अंकगणितमा कमजोर तर निर्णय प्रक्रियामा प्रभावशाली गौतम

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा गौतम पक्षका करिब एक दर्जन केन्द्रीय सदस्य छन् । अहिलेसम्म १० जनाले खुलेर उनलाई साथ दिँदै आएका छन् । यो केन्द्रीय कमिटीको तीन प्रतिशत हिस्सा हो । उमा कोइराला, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, बलराम बाँस्कोटा, यामलाल कँडेल, राधा ज्ञवाली, सावित्राकुमारी भुसाल, हरिप्रसाद पराजुली, लक्ष्मणराज ज्ञवाली गौतम समूहमा छन् । स्थायी समितिमा गौतमका कोही पनि छैनन् । विगतमा उनलाई साथ दिँदै आएका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण  गुरुङ र स्थायी समिति सदस्य रघुवीर महासेठले साथ छाडेका छन् । त्यस्तै, केन्द्रीय कमिटी सदस्य तथा भूमि सुधार तथा व्यवस्थामन्त्री पद्मा अर्याल र केन्द्रीय सदस्य मोहन बानियाँ पनि ओली समूहतिर लागेका छन् । सचिवालय र स्थायी समितिमा एक्ला गौतम पछिल्ला दिनमा केन्द्रीय कमिटीमा पनि निर्णायक मानिन छाडेका छन् । गणितीय रूपमा कमजोर भए पनि राजनीतिक रूपमा उनी प्रभावशाली छन् । –नयाँपत्रकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ