काठमाडौं, ११ फागुन ।
सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका ललितपुर इन्चार्ज रमेश डंगोल ‘बिशाल’लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्दै आइतवार सर्वोच्च अदालतले डंगोललाइ रिहा गर्न आदेश दिएको थियो । तर डंगोललाई अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले सर्वोच्चको गेटबाटै पुन पक्राउ गरेको हो ।
डंगोललाई राजनीतिक आस्थाको आधारमा पक्राउ गरि गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै रिहा गर्न माग गरी फागुन १ गते भाई रविन डंगोलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थियो । सोहि रिट निवेदनमाथि आज इजलास नम्बर २ मा भएको सुनुवाईपछि न्यायधिसद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले डंगोललाई रिहा गर्न आदेश दिएको थियो ।
‘आदेशमा रमेश डंगोलको थुना गैरकानुनी देखिएकाले विपक्षीका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ बमोजिक बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’ आदेशमा भनिएको छ ।
डंगोललाई प्रहरीले हातपात गरेर पक्राउ गरेको छ । रिहा भएलगत्तै उनलाई बिना पक्राउ पूर्जी अदालत गेटबाटै प्रहरीले पुनः पक्राउ गरेपछि उपस्थित आफन्तले पक्राउ पुर्जी देखाउन माग गरेका थिए ।
सोक्रममा प्रहरीले महिलाहरुमाथि पनि हातपात गरेको छ ।
यसअघि माघ १ गते ललितपुरको महाँकाल कालेश्वरस्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा धोविघाट बस्ने ४४ वर्षीय डंगोललाई प्रहरीले पक्राउ गरेको थियो । तर जिल्ला अदालत ललितपुरले उक्त मुद्धामा माघ २६ गते डंगोलको संलग्नता रहेको कुनै प्रमाण, कागज तथा विश्वासयुक्त श्रोत तथा प्रत्यक्षदर्शी नरहेको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
लगत्तै प्रहरीले अदालतबाटै पुनः पक्राउ गरेको थियो । पक्राउपछि डंगोललाई रिहाईको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो । आज रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, कान्तिराम ढुंगाना लगायतले बहस गरेका थिए ।

भिडियाे हेर्नुहाेस् ।