काठमाण्डौ, फागुन १० ।
ललितपुरको सानेपाकी मुना कार्कीको हत्याको बिषयमा प्रहरीले उनकै श्रीमान पूर्वसचिव अर्जुन कार्कीसँग बयान लिने तयारी गरेको छ । गत माघ २७ गते पूर्वसचिव कार्कीकी श्रीमती मुनाको हत्या र सोही घरमा काम गर्ने विजय चौधरीको आत्महत्याबारे प्रहरीले अनुसन्धान जारी राखे पनि कुनै क्लू नभेटाएपछि प्रहरीले अर्जुन कार्कीसँग पनि बयान लिने तयारीमा छ ।
श्रीमतीको हत्यापछि किरियामा बसेका कारण अर्जुनसँग सोधपुछ गर्न नपाएको प्रहरीले जनाएको छ । किरिया सकिएपछि अर्जुनसँग सोधपुछ हुने बताईएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले घटनालगत्तै फरेन्सिक अध्ययनका लागि पठाईएको मुना र विजय दुवैको मोबाइलको रिपोर्ट आईसकेको छ । तर उक्त फरेन्सिक परीक्षणमा कुनै ‘क्लू’ नभेटिएको परिसरका एसएसपी टेकप्रसाद राईले बताए ।
मुना र कामदार चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षण गरिएपनि रिपोर्टमा चौधरीले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण देखिएको छैन । उनको मोवाइलबाट डिलिट गरेका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको प्रहरीको दावी छ ।
फरेन्सिक रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिरहेको जनाउदैँ प्रहरीले अब मुनाकै श्रीमान अर्जुनसँग बयान लिने तयारी गरिएको प्रहरीले बतायो ।
चौधरीले प्रयोग गर्ने मोबाइलमा कुकुरसँग खेलेको, अर्जुन कार्कीको छोरासँग रमाएको र विभिन्न ठाउँ घुम्न जाँदाखेरी खिचेका फोटाहरु भेटिएका छन तर कुनैपनि अश्लील खालका र हिंसामा सघाउ पुर्याउने खालका सामग्री नभएको परिसरकी एसपी दुर्गा सिंहले बताइन् ।
पोस्टमार्टम रिपोर्टमा मुनाको मृत्युको कारण स्ट्रांगुलेसन (घाँटी थिचिएका कारण) र चौधरीको झुण्डिएर भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । उक्त पोस्टमार्टम रिपोर्ट आउनु अघि ललितपुर परिसरले घटनास्थलमा प्राप्त सीसीटीभी फुटेजको विश्लेषणको आधारमा मुनाको घाँटीमा डोरीले कसेर र टाउकोमा पिर्काले हानेर हत्या गरी कामदार चौधरीले आत्महत्या गरेको दाबी गरेको थियो ।
चौधरीले ‘मालिक्नी’ मुनाको हत्यापछि आत्महत्या गरेको भनिरहेपनि प्रहरीले यस्तो अपराधको कारणबारे चाहिँ केही बताउन सकेको छैन ।
हत्याको कुनै क्लू नभेटाएपछि प्रहरी अर्जुन कार्कीसँग पनि बयान लिने तयारीमा पुगेको हो ।