काठमाडौँ, ८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारप्रति शून्य सहनशीलता बोलीमा होइन व्यवहारमा अपनाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ’भ्रष्टाचारप्रतिको शून्य सहनशीलता’ भन्नका लागि नभएर व्यवहारमा उतार्न भनेको बताए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गे्निङ गरेको अडियो सार्वजनिक भएर सूचना तथा संचार प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको केही समयपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले भ्रष्टाचार र लुटतन्त्र मच्चाउनका निम्ती शासन सत्तामा नर्पुयाएको बताउदैँ सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएको दाबी गरे । उनले भने, ’स्वच्छता, पारदर्शिताको सम्बन्धमा अलिकति पनि प्रश्न उठ्ने बितिक्कै मैले भन्ने गरेको छु कि- म यसमा कसैको अनुहार हेरेर निर्णय गर्दिन।’
सुशासनका निम्ति चाल्नुपर्ने कदममा आफु नहिचकिचाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ’अप्ठ्यारा, कठिनाइ अवश्य आउँछ। कहिले कहिले मान्छेहरूले भन्ने गर्छन् ’तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यहिँ चालले’ मलाई त्यसको चिन्ता होइन।’
आफू प्रणाली स्थापना गर्नका लागि काम गरिरहेको ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले कसैले पनि लामो समय शासन नगर्ने र आफू पनि त्यस पक्षमा नरहेको बताए।