काठमाडौँ फागुण ८ । सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीचे कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक हुनुको रहस्य खुलेको छ । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएर सार्वजनिक भएको देखिएको छ । यो अडियो अहिले देश विेदेशमा लाखौं नेपालीहरुले सुनिरहेका छन् र बास्कोटा विरुद्ध व्यापक टिप्पणीहरु भईरहेका छन् ।
स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका छन् । जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।
तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ठेक्का नदिने बताएका थिए । तर आज ८ गते लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रले अडियो मिडियामा पठाएको थियो ।
अहिले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । त्यसका लागि सरकारले तयारी पनि थालेको भियो । यसै सम्बन्धमा स्वीस कम्पनीले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात् करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो ।
स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।
अहिले स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले भने करिब ४० अर्बमा बनाउन लागेको थियो ।
मिश्रले उक्त रकम घुस नभएर कमिशन भएको र त्यो नियमसंगत तरिकाबाट आउने भन्दै कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बाँस्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको तर , ‘मन्त्रीलाई त्यति रकमले पनि नपुगेपछि अर्को कम्पनी खोज्न थालियो । र, जर्मन कम्पनीले ४० अर्बको १२ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेपछि हामीले उक्त कुराकानी बाहिर ल्याएका दावी गरेका छन् ।
मिश्रले अगाडि भने, ‘आज हामीले यो अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेहरुले पनि कमिशन खाने गरी सेटिङ गरिसकेका थिए । त्यसकारण हामीले उक्त अडियो बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौँ ।’