काठमाडौं, ७ फागुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपाद्वारा गठित कार्यदलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)बारे अध्ययन गरेर सुझाव मात्रै पेस गर्ने बताएका छन् । बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किएका ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेस गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन् ।
पार्टी केन्द्रीय समिति बैठकमा केही टोलीका नेताहरुले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकार दिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उनले बताए। मन्त्री ज्ञवालीले भने, ‘सरकारले एमसीसी साउनमै संसदमा प्रस्तुत गर्नुको तात्पर्य प्रष्ट नै छ। हामीलाई दिएको विषय पनि त्यही हो। त्यसको बारेमा रहेका अस्पष्टताहरु प्रष्ट पार्न समिति गठन भएको हो।
केन्द्रीय समितिमा केही सदस्यहरुले नबुझेको र प्रष्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको भन्दै उनले दोस्रोपटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँने बताए ।
नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवाली सहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो। अहिले कार्यदलले अध्ययन गरिरहेको छ।