आज प्रजातन्त्र दिवश मनाइँदै

आज प्रजातन्त्र दिवश मनाइँदै

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौं, फागुन ७ । १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा बुधवार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।
७० औँ दिवस मूलसमारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
दिवस भव्यरुपमा मनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा चौर, कवाज, ब्यायाम व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

दिवसका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।
यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, सङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।
यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने छ ।
विसं २००७ को प्रजातन्त्र प्राप्तिको क्रान्ति पूर्व सुदूरपश्चिम प्रदेशमा शहीद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, शहीद भीमदत्त पन्त र एण्डीप्रकाश चटौतको नाम सधैँ अग्रपङ्क्तिमै आउँछ । कञ्चनपुरको भीमदत्तनरस्थित सुदूरपश्चिमाञ्चलका पूर्व डीन डा टेकराज पन्तले प्रजातन्त्र प्राप्ति र तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध सुदूरपश्चिमको भूमिका पनि ऐतिहासिक रहेको बताउनुहुन्छ ।
पछिल्लो समय शहीद घोषणाको रफ्तारप्रति असहमति जनाउँदै उहाँले शहीद घोषणाको छुट्टै अन्तर्रा्ष्ट्रिय मापदण्ड रहेको बताउनुभयो । “मुलुक, समाज र परिर्वतनका लागि आहुति दिने सबै श्रद्धाका पात्र नै हुन्”, उहाँले भन्नुभयो, “सस्तो लोकप्रियताका लागि शहीद घोषणा गरेर वास्तविक चार शहीदको अपमान गर्नु हुँदैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ