धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढेको छ । साताको पहिलो दिन आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५८ ले वृद्धि भई २८५.८२ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १७६ कम्पनीको ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भयो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । वित्त ३.३४, अन्य २.६८ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ । यस्तै बैंकिङ ५.१५, व्यापार ११.०२, होटल ६.९५, विकास बैंक ४.५४, जलविद्युत् ९.४५, निर्जीवन बीमा ४१६.७९, उत्पादन ५३.९४, लघुवित्त ५७.८१, जीवन बीमा ३९८.६९ ले बढेको छ । कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १८ करोड चार लाख २० हजार ३१५ बराबरको कारोवार भएको छ ।