विराटनगर, माघ २४ । भारतले निकासीमा प्रतिबन्ध लगाएसँगै पाम आयल अर्थात् ताडीको तेल गोदाममा नै थन्किएको छ । एक महिना अगाडी भारतले निकासीमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विराटनगर भन्सार कार्यालयको गोदाममा छ सय टन पाम तेल थन्किएको छ ।
पाम आयल गोदाममा नै थन्किएपछि विराटनगरका उद्योगीको सात करोड मूल्य बराबरको पाम तेल भन्सारको गोदाममा थन्क्याएका छन् । निकासी रोकिएकै दिन पुस २३ गते सीमापारि पुगिसकेको पाम तेल व्यवसायीले भन्सार गोदाममा फर्काएका थिए ।
निकासी खुल्ला हुने आसमा भन्सार क्षेत्रमा पु¥याइएको चार उद्योगको तेल भन्सार गोदाममा थन्किएको इन्टरमोडन यातायात विकास समिति विराटनगर भन्सारका प्रमुख गणेश घिमिरेले जानकारी दिनुभयो ।
पशुपति, बाबा, स्वस्तिक र श्रीराम रिफाईनरी उद्योगले उत्पादन गरेको पाम तेल भन्सारको गोदाममा रहेको छ ।
भन्सारको काम आईसीपीमा सरेपछि पुरानो भन्सार क्षेत्रको गोदामको आवश्यकता धेरै छैन । व्यवसायीले पाम तेल फिर्ता लैजान समेत भन्सारका केहि प्रावधान पूरा गर्नुपर्ने हुन्छ । कच्चा पैठारीमा भन्सार र मूअकर छुट पाउने भएका कारण भारतीय भन्सार कार्यालयबाट फिर्ता भएको पाम तेल लैजान १० प्रतिशत भन्सार छुट महशुल फिर्ता गर्नुपर्ने भन्सारका सूचना अधिकृत मणिराम पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षको छ महिनाको अवधीमा विराटनगर नाका हुँदै साढे चार अर्ब रुपिँयाको पाम तेल निकासी भईसकेको थियो ।