विराटनगर, माघ २४ । पुरातत्व विभागले मोरङको भेडियारी क्षेत्रमा रहेको ऐतिहासिक दरबार क्षेत्रको भग्नावशेष पुनः उल्खनन् गर्ने भएको छ । विराट राजाको प्राचिन दरबार रहेको प्रमाणिकता खोज्न दोस्रो पटक दरबार क्षेत्रको भग्नावशेष उल्खनन् गर्न लागेको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दिप खनालले जनाएका छन् ।
महाभारतकालमा विराट राजाको दरबार क्षेत्र रहेको दावी गरिने तत्कालिन मोरङको बुधनगर–५ (हाल विराटनगर–१८) उक्त स्थान २०२७ सालमा पहिलो पटक उत्खनन् गरिएको थियो । त्यसबेला ४० वटा पंचमार्का मुद्राहरु फेला पारिएको थियो । पुरातत्व विभागले राष्ट्रिय संग्राहालयमा संग्रह गरेका ती पंचमार्का इसापूर्व दोस्रो र प्रथम शताब्दीको हुनसक्ने अनुमान गरिएको छ ।
विराटनगर महानगरपालिकाले दरबार क्षेत्र उत्खनन्पछि संरचना निर्माण गरेर त्यसको संरक्षण गर्ने योजना अगाडी सारेपछि विभागले उक्त क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ । ढिस्को उत्खनन् गरेर भित्री भागमा हुनसक्ने वस्तुको संकलन र अध्ययन गर्ने विभागको तयारी गरेको छ ।
अधिकृत खनालका अनुसार ५० वर्ष अगाडी उत्खनन् गर्दा झण्डै दुईसय वर्ष पुरानो भग्नावशेष रहेको ठहर गरिएको थियो ।
पहिले उत्खनन् गर्ने क्रममा भित्री भागमा ठूलो भवनको भग्नावशेष फेला परेको थियो । तर, तत्कालिन समयमा भवनको तल्लो भागसम्म उत्खनन् नगरिएका कारण पुनः उत्खनन् गरेर सबै सामाग्री निकाल्ने योजना राखिएको छ ।

दरबार क्षेत्रको बाहिरि भागमा ढुंगाको प्राचिन ढक, शिलालेख, मुगा, मट्याङग्रा, भद्रीका देवीको मूर्ति, बुद्ध मूर्ति, ठेकुवा छाप (साँचो), अल्सी, तामाका मुद्रा, आगो बाल्ने दर्शन ढुंगा, इटा, पत्थरका गेडी, निलम पत्थर, शालिग्राम, शिवलिङ्ग, ओलम, पासा, माटोको कुप्पी, चिलम, सुराही र हतियारमा धार लगाउने ढुंगा जस्ता वस्तुहरु भेटिएको र उक्त संकलित सामग्रि सोहि स्थानमा राखिएको दरबार क्षेत्र संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादव बताउनुहुन्छ ।
उत्खनन् गरेर निकालिएका सबै सामान त्यहि क्षेत्रमा संरचना निर्माण गरेर संग्रह गर्ने योजना विराटनगर महानगरपालिकाले अगाडी सारेको छ । विराट राजाको दरबार क्षेत्रमा पाण्डवहरुको गुप्तबास बसेको समयमा हस्तिनापुरबाट भेदी (गुप्तचर) पठाइएको भनाई रहँदै आएको छ । त्यहि आधारमा त्यस क्षेत्रलाई भेडियारी नाम दिइएको मान्यता रहेको छ । त्यहि स्थानमा बाबा हरिशरण सिंहले हात्तिको दाँत भेट्नु भएको दावी गरिन्छ ।

दरबार क्षेत्रको आसपासमा छ पोखरी रहेका स्थान अहिले पनि रहेका छन् । दक्षिण क्षेत्रमा धरोहर पोखरी, पूर्वमा किच्चक, भनसिया, गुहिया, डोबिया पोखरी र धेधा इनार रहेका छन् ।

प्राचिन र पुरातत्व महत्वको क्षेत्र भएका कारण विराट दरबार क्षेत्रलाई अहिले पर्यटकीयस्थलको पहिचानको रुपमा विकास गरिदैं गएको छ ।
संरक्षण समितिका अध्यक्ष यादवका अनुसार अहिलेसम्म १६ देशका नागरिकले यो क्षेत्रसम्म पुगेर भग्नावशेषको अवलोकन गरिसकेका छन् ।