२३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज विहान शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । शान्ति प्रक्रियाबारे के–के कुराकानी भयो भन्ने बारेमा भने दुवै पक्षले खुलाएका छैनन् ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभएको थियो । नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेकोले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको प्रचण्डको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले भनेको छ ।
भेटका अवसरमा अध्यक्ष प्रचण्डले आर्थिक नेपालको समृद्धिको अभियानमा बेलायतको सहयोग अपरिहार्य रहेको पनि बताउनुभएको थियो ।
भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेको स्मरण गर्दै नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने बताउनुभयो ।