नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। पटवालले नेपाल, अमेरिका र ओमानबीच आगामी बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने त्रिकोणात्मक सिरिजपछि लागु हुने गरी राजीनामा दिएका हुन्।
नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी उनीसँग असन्तुष्ट रहेका थिए। मासिक ७ हजार डलर तलबमा पाउने पटवालसँग २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो।
यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट थिए। पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट संघ आइसिसीले नेपाली टिमको प्रशिक्षकमा नियुक्त गरेकाले उनले आइसिसीलाई नै राजीनामा पठाएका छन्।
उनी एक वर्षअघि युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि पटवाल कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक थिए।
०७४ फागुनमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटका लागि पहिलो पटक उनी नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका थिए । सो भ्रमणमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएका थियो।
मुम्बईका पटवालले यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए। सन् २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए। त्यसपछि उनले अफगानिस्तानको घरेलु लिगमा प्रशिक्षक भएर काम गरे।