माघ २०, काठमाडौं ।
कोरोना भाइरसको संक्रमण बाहिरि मुलुकमा पनि फैलिने क्रम नरोकिएपछि चिनीयाँ पर्यटकको नेपाल आगमन ठप्प भएको छ ।
भारत र चीन मात्र होइन अन्य देशका पर्यटकले पूर्वनिर्धारित नेपाल आउने तालिका रद्ध गरिरहेका छन् । मुख्य सिजन मानिने यो समय नै होटल बुकिङ रद्द हुनथालेपछि यसको असर आगामी वैशाख जेठसम्मै पर्ने होटेल एसोसियसन अफ नेपालले जनाएको छ ।
अन्नपूर्ण पदयात्राका क्रममा हिउँ पहिरोमा परेर ४ जना दक्षिण कोरियाली नागिरक सहित ७ जना बेपत्ता भएको र मकवानपुरको सिमभन्ज्याङको एक होटलमा ८ जना भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएपछि पर्यटन बजार प्रभावित बनेको थियो ।
पछिल्लो समय कोरोना भाइरसका कारण चीनिया पर्यटक समेत नेपाल आउने तालिका रद्ध गर्न थालेपछि नेपाल भ्रमण वर्ष २०२०मा मुलुकमा २० लाख पर्यटक भित्राउने योजनामा धक्का लाग्ने देखिएको छ ।
कोरोना भाइरस व्यापक रुपमा फैलिएपछि दुई सातायता चिनियाँ पर्यटक मात्रै नभई अन्य मुलुकबाट आउनेको संख्या पनि घटेको नेपाल पर्यटन बोर्डका सदस्य एवं होटेल एसोसियसन अफ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले बताउनुभयो ।