माघ २०, काठमाडौं
संघिय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुख चयन भएपनि दलहरुबीच सहमती जुट्न नसक्दा उपसभामुख चयन हुन सकेको छैन । संसद सचिवालयले प्रतिनिधि सभाको रिक्त उपसभामुखको निर्वाचनका लागि तयारी सुरु गरेपनि दलहरुको सहमति नजुट्दा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।
रिक्त रहेको उपुसभामुखको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्ने गरी सचिवालयले ड्राफ्टमा छलफल गरिरहेपनि सभामुखसहित दलहरुको प्रतिबद्धता नआएपछि अन्योलता बढेको छ ।
भोलि बस्ने संसदको बैठकको सम्भावित कार्यसूचीका लागि आज हुने छलफल पछि यसको निक्र्योल हुने संसद सचिवालयका सचिव गोपाल नाथ योगीले जानकारी दिनुभयो ।
योगीका अनुसार संसद सचिवालय भने उपसभामुखको निर्वाचन प्रक्रियाका लागि तयारी अवस्थामा छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु बिभिन्न बैठक तथा अन्य विषयमा व्यस्त रहँदा उपसभामुखको निर्वाचन प्राथमिकतामा नपरेको हो ।
माघ ६ गते उपसभामुख शीवमाया तुम्बाहाङफेले पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको छ ।
नेकपा बाहेकका दलबाट महिला सांसद सो पदमा पुग्ने निश्चित रहेको छ । तर सो पद कसलाई दिने भन्नेमा दलहरु पनि निर्णयमा पुग्न सकेका छैनन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उपसभामुखमा दाबेदारी प्रस्तुत गरेपनि नेकपाले ठोस निर्णय लिन नसक्दा कसले सो पद पाउने भन्नेमा पनि द्विविधा देखिएको छ ।