सुनसरीको कोशी गाउँपालिकाले आगामी माघ १९ गतेदेखि २९ गतेसम्म कोशी पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
पर्यटकलाई आकर्षण गर्ने विभिन्न प्याकेजसहित गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवमा ५० हजार भारतीय, तेस्रोमुलुकसहति आन्तरिक पर्यटक गरि एकलाख भित्र्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
विश्व चरा महोत्सवको अवसर पारेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवकोउद्घाटन गर्नुहुने कार्यक्रम छ । दशदिनसम्म चल्ने महोत्सवमा घुम्न आउने पर्यटकका लागि जंगल ड्राइभ, जल र हात्ती सफारीको आकर्षक सुविधा समेत उपलब्ध गराईने अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।
हिन्दु र मुस्लिम बाहुल्य क्षेत्र रहेको कोशी गाउँपालिकाको महोत्सवमा मैथिली झिझिया र जटाजटिन लोकभाकादेखि झाँगड, थारु, चण्डी र धान नाच, लाखे प्रर्दशनी तथा तामाङ सेलोसँगै गुरुङ र मगर सोरठीको प्रस्तुति समेत राखिएको छ । अध्यक्ष अन्सारीका अनुसार नेपाली संस्कृतिको अन्तरघुलन गराउनका लागि बहुजायित साँस्कृतिक कार्यक्रम राखिएको हो ।
महोत्सवमा खेलप्रेमीहरुलाई आकर्षित गर्नका लागि राष्ट्रिय कुस्ती प्रतियोगिता, महिला र पुरुष भलिवल प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।
कोशी गाउँपालिका क्षेत्रमा दैनिक दुईसय पर्यटकलाई सुविधा दिनसक्ने होटल तथा होमस्टे सञ्चालनमा रहेका छन् । निजी लगानी १३ करोडको लागतमा सुविधासम्पन्न रिसोर्ट निर्माणको काम समेत धमाधम भईरहेको छ ।