काठमाडौं, १३ माघ ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले नेपालको प्रचलित कानुन बमोजिम जीवन बीमा व्यवसाय सञ्चालन हुँदै आएकोले सबै प्रकारको दुष्प्रचारबाट टाढा रहन आफ्ना बीमितहरुलाई आग्रह गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै बीमा समिति, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई तथा नियमनको सीमाभित्र रहेर जीवन बीमा व्यवसाय सञ्चालन हुँदै आएकोले पछिल्लो समय आएका केहि भ्रामक समाचारप्रति सचेत रहन अपिल गरेको हो ।
एलआईसीका सूचना अधिकारीद्धारा जारी विज्ञप्तीमा कम्पनीले प्रदान गर्दै आएको बोनसदर सन्दर्भमा केही कपोल्कपित एवम् भ्रामक प्रचार भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको पनि जनाईएको छ । उक्त भ्रामक समाचार लेख बनाई प्रचार गर्नेलाई कानुनी प्रकृयामा लगिने जानकारी गराउदै बीमीत, शेयरधनी, ग्राहक, अभिकर्ता, तथा एजेन्सी म्यानेजरहरुलाई सचेत रहन र त्यस्तो भ्रमक प्रचारलाई विश्वास नगर्न पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
साथै कम्पनीले जीवन बीमा कोषमा ६१ अर्ब ८४ कोष ५६ लाखभन्दा बढि जम्मा भएको जनाएको छ । चालु आवको छ महिनाको तथ्याङ्क अनुसार हालसम्म एलआईसी नेपालको जीवन बीमा कोषमा सो रकम दाखिला गरेको कम्पनीले जनाएको छ ।
नेपालमा १८ वर्षदेखि व्यवसाय गर्दै आएको एलआईसी नेपाल विदेशी कम्पनी नभई नेपालमा नै दर्ता भई सञ्चालित स्वदेशी लिमिटेड कम्पनी हो । देशभर ७४ वटा शाखा कार्यालय रहेको कम्पनीले चालु आ.व.को छ महिनामा सात अर्ब ६९ करोडभन्दा बढि बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।
चुक्ता पुँजि दुई अर्ब १० करोड रहेको एलआईसी नेपालले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ३६ प्रतिशत मुनाफा दिएको छ भने अघिल्लो आर्थिक वर्ष ७० प्रतिशत लाभांश दिएको थियो । गत आवको एक्चुरियल भ्यालुएशनको कारण चालु आवको मुनाफा भने वितरण गर्न बाँकी छ ।
कम्पनीले न्यूनतम् बोनसदर प्रतिहजार ६६।– रुपैयाँ रहेको जनाउँदै बीमा पोलिसीको प्रकृति अनुसार ८५।– रुपैयाँ प्रतिहजारसम्म बोनस दर रहेको प्रष्ट पारेको छ । कम्पनीले जीवन बीमा गरेर जोखिम र बचतको लाभ लिन सबैलाई आग्रह गरेको छ । गत आवमा डेढ अर्बभन्दा बढि मुनाफा आर्जन गर्न सफल एलआईसी नेपालले गत असार मसान्तसम्म सात लाख ९४ हजार ४५१ जना नेपालीको बीमा गरी १३ अर्ब ४१ करोडभन्दा बढि जीवन बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।
एलआईसी नेपालले केहीअघि एकल बीमा सेवा समेत सुरु गरेको थियो । पछिल्लो समय अत्याधिक बोनस तथा अन्य प्रतिस्पर्धी कम्पनीको जोखिमको तुलनामा दोब्बर जोखिम बहन गर्दै आएको छ ।
