सुझाव, प्रतिक्रिया तथा आलोचनालाई आत्मसात् गरेर अघि बढ्न सुझाव

सुझाव, प्रतिक्रिया तथा आलोचनालाई आत्मसात् गरेर अघि बढ्न सुझाव

  • आइतवार, माघ १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडाैं, १२ माघ ।सत्तापक्ष र विपक्षी दलका नेताहरुले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जनता र सांसद्को आवाज उठाउने मञ्चका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा आजको सभामुखको निर्वाचनपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सांसद हुने योग्यता नै सभामुख हुने योग्यता भएको उल्लेख गर्दै सापकोटाले शिक्षकको समेत लामो समय अनुभव सम्हाल्नुभएकाले सभामुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्ने जनाउनुभयो ।

नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले सभामुख सापकोटाले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नसक्ने अपेक्षा व्यक्त गर्नुभयो । नेता नेपालले विभिन्न माध्यमबाट प्राप्त सुझाव र प्रतिक्रिया तथा आलोचनालाई समेत आत्मसात् गरेर अघि बढ्न सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुखको भूमिकामा निर्वाचित सापकोटाले लोकतान्त्रिक मूल्यमान्यतालाई कायम गर्ने अपेक्षा व्यक्त गर्नुभयो । सभामुखले सरकारलाई संसद्प्रति जवाफदेही बनाउँदै प्रतिपक्षी र जनताका आवाजलाई यथेष्ट समय दिने काम गर्न तथा निष्पक्ष र सन्तुलितरूपमा नेतृत्व गर्ने काममा आफ्नो पार्टीले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । उपसभामुखमा काँग्रेसले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उहाँले सभामुख र उपसभामुखमा फरकफरक दल हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसबारे आफूहरुले पछि निर्णय गर्ने जनाउनुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सभामुख सर्वसम्मतरूपमा चयन हुनु सकारात्मक भएको उल्लेख गर्दै उपसभामुखका लागि सत्तारूढ दलले जसलाई दिन चाहन्छ त्यही हुने बताउनुभयो ।

सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सापकोटा बौद्धिक व्यक्तित्वसमेत रहनुभएको र जनयुद्धकालमा सहकार्य रहेको उल्लेख गर्दै कार्यकाल सफलताको कामना गर्नुभयो । खानेपानी मन्त्री बीना मगरले नवनिर्वाचित सापकोटामा सबल र कुशल नेतृत्व क्षमता भएकाले सभामुखको जिम्मेवारी सहज ढङ्गबाट निर्वाह गर्नसक्ने आकलन गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ