सभामुखमा अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित, शपथ सोमबार

सभामुखमा अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित, शपथ सोमबार

  • आइतवार, माघ १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडाैं, १२ माघ ।

प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको हो भन्नुभयो । बैठकमा उहाँको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको उहाँले बताउनुभयो ।

प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गर्नुभएको थियो । पूर्वसभामुख घर्तीले भन्नुभयो, ‘‘सापकोटाको एकमात्र उम्मेदवारी पर्नुले सहमतिको वातावरण बनेको छ, शान्ति प्रक्रियाका बाँकी काम तथा राष्ट्रिय मामिलाका विषयमा काम गर्न सहज हुनेछ ।’’ तीन दशक लामो शैक्षिक क्षेत्रमा अनुभवका साथै जनयुद्ध र शान्ति प्रक्रियामा भूमिका निर्वाह गर्नुभएकाले सापकोटाको उम्मेदवारी उपयुक्त भएको उहाँले बताउनुभयो । सांसद घर्तीले भन्नुभयो, “उहाँमा सांसद र मन्त्रीको समेत अनुभव छ, उहाँ राजनीतिमा इमान्दार र निष्ठावान् नेता हुनुहुन्छ । भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।”

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिनुभयो । आफूहरुले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको होइन भन्नुभयो । सांसद रिजालले भन्नुभयो, ‘‘संविधानले दुई पदमा फरक फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ । सभामुखका उम्मेदवारका बारेमा आज उत्पन्न आशङ्का मेट्न भोलिका दिनमा आश्वस्त हुने गरी काम गर्न सक्नुहोस् । हामी सहयोग गर्न तयार छौँ ।” डा रिजालले व्यक्तिका विषयमा काँगे्रसको समर्थन र विरोध नरहेको पनि स्पष्ट गर्दै जनाउँदै विधिको शासन र लोकतान्त्रिक चरित्रका आधारमा जनता र संसद् सदनप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा ध्यानाकर्षण गराउनुभयो ।

ज्येष्ठ सदस्य ठाकुरले बैठकमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिनुभयो । यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजीनामाबारे बैठकलाई जानकारी गराउनुभएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले महिलामाथिको यौन दुव्र्यवहारको विवादपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ ।

यसैबीच, सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनुहुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ