१२ माघ, काठमाडौं ।
प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ ।
नेता सापकोटालाई सभामुखमा निर्वा्चित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश फुँयालको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् ।
निवेदकको माग दाबी अनुसार आदेश जारी भए सभामुख निर्वाचन प्रक्रिया रोकिनेछ । सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो ।
यसैबीच, सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने हुनुभएको थियो ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उहाँले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराउनुभएको छ ।
फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । उता, सभामुखमा सापकोटा आजै निर्वा्चित हुनुहुनेछ । सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन । दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गर्नुभएको थियो।