प्रधानमन्त्री ओली र मोदीबीच भिडियो वार्ता, दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाऔँ

प्रधानमन्त्री ओली र मोदीबीच भिडियो वार्ता, दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाऔँ

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, माघ ७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गर्नुभयो ।

सोका लागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजीकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच झैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको उल्लेख गर्दै विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँचचौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरिएको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भूकम्पछिको पुनःनिर्माण तथा हाल गोरखा र नुवाकोटमा निजी भवन निर्माणमा गरिएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो दिई शीघ्र लाभको कामना गरेकामा पनि भारतीय समकक्षीलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्य सुधँदै गएको जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन पुनःनिमन्त्रणा दिँदै उहाँले आफूहरु स्वागत गर्न तत्पर रहेको बताउनुभयो ।

मोदी नेपाल आउने
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले सो एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताउनुभयो । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा जाँचचौकीको सञ्चालन गरिएको स्मरण गर्दै उहाँले आगामी दिन पनि अन्य कुनै स्थलमा एकीकृत जाँचचौकीको निमार्ण गरिने बताउनुभयो ।

गोरखा भूकम्पमा नेपालीले भोग्नुपरेको दर्द र त्रासदीमा पहिलो उद्धारकका रुपमा भारतले सघाएको उल्लेख गर्दै उहाँले हाल निर्माणाधीन भवनहरु बलियो हुने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री मोदीले आफू यस वर्ष सन् २०२० मा पक्कै नेपाल आउने जनाउँदै भन्नुभयो,“यस वर्ष म नेपाल आउने कार्यक्रम मिलाउँछु । अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ