५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज अपराहृन बसेको नेकपा सचिवालयको बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको स्राेतले जनाएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रतिनिधिसभाले सभामुख पाउने बाटो खुलेको छ। नेकपाकाे याे निर्णयसँगै सापकोटा नै सभामुख बन्ने पक्कापक्की भएको छ ।
त्यसअघि आजै विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । तत्कालीन माओवादीको भागमा सभामुख भएकोले तत्कालीन माओवादीबाटै सभामुख चयन गर्ने सहमति दुई अध्यक्षबीच भएको थियो । त्यसलाई औपचारिकता दिन बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हो ।
बालुवाटार वार्तापछि अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग परामर्श गरेका थिए । नेकपाले भोलि सोमबार संसदीय दलको बैठक बोलाएको छ ।
पार्टी सचिवालयले सभामुखको नाम टुंगो लगाएपछि संसदको भोलि सोमबारको बैठकमा सभामुख निर्वाचनसम्बन्धी कार्यक्रम पेस हुनेछ । संसद्को हिउँदे अधिवशेन पुस ४ गते प्रारम्भ भए पनि नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा लगातार पुस ११, १७ र २७ गते तीन सूचना टाँसेर बैठक स्थगित भएको थियो ।
काे हुन् अग्नी सापकाेटा ?
सभामुखका उम्मेदवार सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट २०१४ साल फागुन २४ गते जन्मिएका ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्। यसअघि सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए ।
सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए । उनले १५ वर्षसम्म शिक्षण गरे । ७ बर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्याकपक भएर सेवा गरे ।
२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताएका थिए । २०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सापकोटा पराजित भएका थिए।
१० वर्षे जनयुद्धमा भुमिका खेलेका उनले ०६२/०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए।२०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए। शान्ति प्रक्रियापछि सापकाेटा दुईपटक मन्त्री समेत बने । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी अहिले नेकपा स्थायी समिति सदस्य हुन्।
२०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत थिए। समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन समेत गरे । सापकोटाले शिक्षण पेशा छोडेर राजनीति गरेका हुन्।
शिक्षण पेशामा रहँदा नै उनी कम्युनिस्ट पार्टीमा आवद्ध भएका उनी २०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठनमा आवद्ध भएका थिए। पछि सापकोटा ०३५ सालमा मोहन बैद्य नेतृत्वको नेकपा (चौम) को सदस्य बने । ०३७ सालमा उनी शिक्षक संघर्ष समितिको सदस्य भए । जिल्ला अध्यक्ष, हुँदै पछि वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म भए । विभिन्न आन्दोलनका क्रममा सापकाेटाले दुई वर्ष जेल जीवन बिताएका छन् ।
सापकोटा ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने पनि पराजित भए । शिक्षकबाट राजिनामा दिएपछि सापकोटा पूर्णकालीन राजनीतिमा लागे । ०४९ सालमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । शान्ति प्रक्रियापछि ०६४ र ०७० को संविधान सभा निर्वाचनमा सभासद निर्वाचित सापकाेटा अहिले पनि बहालवाला सांसद हुन् । उनी ०७४ को निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित भएका हुन् ।
सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र पनि मानिन्छन् । ०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेर हालसम्म सापकोटाले प्रचण्डको साथ छाडेका छैनन् ।
यसअघि सापकोटाले तत्कालीन माओवादी केन्द्रको प्रवक्ताको भूमिकासमेत निर्वाह गरे । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री भए । ०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्री थिए । उनले अहिलेसम्म दुईपटक मन्त्री हुने अवसर पाएका छन् ।
प्रचण्डले ०५८ सालमा सरकारसँगको दोस्रो वार्तामा सापकोटालाई पनि पठाएका थिए । तीन सदस्यीय वार्ता टोलीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी पनि थिए । तीन सदस्यीय टोलीका एक महरा यसअघि सभामुख थिए ।सभामुख महरा बलात्कारको आरोपमा जेल गएपछि सापकोटाले सभामुख बन्ने अवसर पाएका हुन् ।
सापकोटाकाे व्यक्तिगत विवरण
जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न.पा वडा नं ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा
पेशा र अनुभवः
१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)
पार्टी सदस्यता मिति र पार्टीको नामः
वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारीः
स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
राजकीय जिम्मेवारीः
वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।
वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री
वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद ।
वि.सं. २०७३ –नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
वि.सं. २०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)
संक्षिप्त राजनीतिक जीवन
वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,
वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन),
वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
वि.सं. २०४८ – मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,
वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,
वि.सं. २०५२ – फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,
वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागि,
वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते
वि.सं. २०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाइ जनआन्दोलनमा परिचालनको नेतृत्व
वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य
वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
वि.सं. २०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य