५ माघ, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थपेर आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । चारैजना राज्यमन्त्रीको आजै तीन बजे सपथग्रहण राखिएको छ ।
मुख्यमन्त्री राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गर्नुभएको हो ।
एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आउनुभएको छ ।
पूर्वाधार मन्त्रालयमा उहाँले गुरुङलाई राज्यमन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।
लामो समय अमेरिका बसेका गुरुङ ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वा्चित सांसद हुन् । मुख्यमन्त्रीको विश्वासपत्र रहेका गुरुङले ओखलढुंगामा महेन्द्रा गाडीको स्वरुप उद्घाटन गराउन मुख्यमन्त्रीलाई काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर लगेका थिए ।
शनिबार मात्र पार्टीको प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री खाली राखेर राज्यमन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।