काठमाडौँ, माघ ३ ।
सभामुखको उम्मेदवार छान्न आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णयक छलफल हुँदै ।
यसअघि हिजो बालुवाटारमा भएको वार्ता निश्कर्षबिहिन बनेपछि आज दुई अध्यक्षबीच सभामुखका बिषयमा निर्णायक वार्ता हुनलागेको हो ।
दुई अध्यक्षबीच सभामुखबारे आज निर्णायक वार्ता गर्ने तयारी रहेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । माघ ६ गते अगाडि नै सबै विषयमा समाधान दिने गरी छलफल अगाडि बढेको नेताहरुको भनाई छ ।
६ माघमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठक बसेको अवस्थामा सभामुख निर्वाचनको कार्यतालिका आउनेछ । तर सत्तारुढ नेकपामा सभामुखबारे सहमति जुट्न नसक्दा संसद बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ ।
नेकपामा अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको आ आफ्नो उम्मेदवार छन् । ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने प्रचण्डले अग्नि सापकोटाको नाम लिएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पूर्वमाओवादी कोटाबाट भएकाले अहिले सभामुख आफ्नो प्रस्तावमा हुनुपर्ने प्रचण्डको अडान छ ।
यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङफेले पनि सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन् ।
सभामुख चयनका लागि बाटो खोलिदिन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ तर उपसभामुख तुम्बाहाङ्फेले सभामुख को बन्ने निश्चित भएपछि मात्र आफूले राजीनामाबारे सोच्ने नेकपाका शीर्ष नेतालाई जानकारी दिइसक्नुभएको जनाइएको छ ।