ललितपुर । पादरीहरुले यूरोपमा महिलामाथि यौन उत्पीडन र शोषण गर्ने कुराले विस्वमा ठूलो विवादको बिषय बनायो । परमेश्वर यशुका नाममा उनीहरुले ठूलो मुक्ति र धर्मको कुरा गरे पनि बलात्कार जस्तो जघन्य अपराध गर्ने गरेका थिए ।
हिन्दुहरुको पनि खास गरी भारतमा आशाराम बापु जस्ता धार्मिक व्यक्तिहरुले यौन शोषणको मामला सामना गर्नु पर्यो ।
नेपालमा पनि पछिल्लो समय यस्तो प्रवृति देख्न थालिएको छ । केही समय अघि चतरा धामका एक महन्तले एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परी हाल धरौटीमा छुटेका छन् ।
यता ललितपुरमा हालै क्रिश्चियन चर्चका पाष्टरले एक महिलालाई परमेश्वरको नाममा बलात्कार गरेको खुले पछि र महिलाको उजुरी पछि प्रहरीले कार्बाही थालेको छ ।
यसरी भयो बलात्कार ………
ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन् । थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन। औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र तरिका खोज्नतिर लागिन्। कैयौंपटक धामीकहाँ पुगेर झारफुक गराइन्। निको भएन। एक दिन उनलाई छिमेकी महिलाले चर्चमा गएर ध्यान गर्दा निको हुन्छ भन्दै त्यसै गर्न सुझाइन्। रोगले सताइरहेका बेला चर्च जाँदा निको हुन्छ भन्ने सुनेपछि उनी कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली नामको चर्चमा धाउन थालिन्। सीता शनिबार–शनिबार नियमित चर्च जान्थिन्।
सीता चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँग नजिकिन थाले। उनले ‘अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, यसलाई मेटाउन पमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले। पाप र रोग मेटाउन जोशीले सीतालाई आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने बताए। उनले आफू प्रार्थना बस्दा परमेश्वरले यस्तो विधि बताएको भन्दै आफूसँग शारीरिक सम्पर्क राखेको तीन महिनाभित्र रोग निको हुने भनी सीतालाई विश्वस्त पारे। पास्टर जोशीले सीतालाई चापागाउँ (ललितपुर) मोडमा रहेको एक गेस्ट हाउसको कोठामा बोलाएर शारीरिक सम्बन्ध राखे। त्यसपछि पनि दबाब र आशा देखाई पटक–पटक उनले शारीरिक सम्बन्ध राखे। तर रोग निको भएन। रोग निको नभएपछि सीताले रोग निको बनाइदिने झुटो आश्वासन देखाएर जोशीले आफ्नो अस्मिता लुटेको भन्दै कारबाहीका लागि प्रहरी गुहारिन्। उनले प्रहरी परिसर ललितपुरमा जोशीविरुद्ध जाहेरी दिइन्। जाहेरीमा लेखिएको छ, ‘मेरो इच्छाविपरीत ढोका बन्द गरी निज पास्टरले शारीरिक सम्बन्ध राखे। मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश हुन्छ र यसको असर तिमीलाई पनि पर्छ भनेर धम्की दिए।’
जाहेरीमा जोशीले पटकपटक बलात्कार गरेको र यो विषयलाई बाहिर लगे परिवार तथा साथीभाइलाई भनिदिने भन्दै डर देखाएको उल्लेख छ। जाहेरीमा जोशीले पछिल्लोपटक पुस पहिलो साता बलात्कार गरेको उल्लेख छ। पीडितको लिखित जाहेरीका आधारमा चर्चका पास्टर जोशीलाई ललितपुर प्रहरीले कुसुन्तीबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जोशीले केही समय गोरखामा पार्टी प्यालेससहित रेस्टुरेन्ट पनि चलाएका थिए । केही वर्षअघि जोशीकी सालीले उनीसँगको सम्बन्धका कारण आत्महत्या गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ। सालीले आत्महत्या गरेलगत्तै जोशीले गोरखा छाडेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जोशीविरुद्ध जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
‘धार्मिक आस्था देखाएर फाइदा लिएको देखियो, यस्तो काम गर्ने र गराउनेलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘चर्चमा धेरै संख्यामा मानिस आउने रहेछन्, अन्यमाथि पनि यस्तै भएको हुनसक्छ, अनुसन्धान भइरहेको छ।’ जोशीलाई थुनामा राखेर थप अनुसन्धान गर्न मंगलबार पाँच दिनको म्याद थपिएको छ ।
नागरिकबाट