सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय राजनीतिमा जटिलता आएको बताएका छन् । चितवनको माडी नगरपालिकामा आयोजित खिचरा महोत्सव उद्घाटन कार्यक्रममा दाहालले राष्ट्रिय राजनीतिमा जटिलता आएको बताएका हुन् ।
आफूलाई दबाब दिने राष्ट्रिय राजनीतिको जटिलता के हो भन्नेचाहिँ उल्लेख गरेनन् । सभामुख चयनलाई लिएर नेकपामा संघर्ष छ । दाहाल आफैंले पूर्वमाओवादीले सभामुख पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनीमाथि पूर्वमाओवादीका नेताले सभामुख छोड्न नहुने दबाब दिँदै आएका छन् । अर्कोतिर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान लिएका छन् ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू स्वतः सभामुख बन्नुपर्ने दाबी गर्दै आएकी छन् । उनले आफूलाई सभामुख नबनाउने भए उपसभामुखबाट राजीनामा नदिने अडान लिएकी छन् । उनले नेकपाको सचिवालय बैठकले पदबाट राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै हटाउन चुनौती दिएकी छन् ।
यीनै विषयलाई लिएर दवाव बढेको र जटिलता पैदा भएको कुरा दाहालले सारेको हुन सक्ने अनुमान गरिएको छ ।