विराटनगर, २८ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधि नसच्चिए जनताको निसानामा पर्नसक्ने चेतावनी दिएका छन् । उनले जनअपेक्षा विपरित काम गरे जनताले नाङ्गेझार पार्ने समेत बताए ।
विराटनगरमा सोमवारदेखि सुरु प्रदेश १ समन्वय परिषद्को तेस्रो बैठकमा बोल्दै मुख्यमन्त्री राईले संघीयताको मर्म स्थापित हुने गरि कानुन र परिधिमा बसेर काम नगर्नेलाई जनताले नछोड्ने बताए ।
प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधि सम्मिलित परिषद् बैठकमा मुख्यमन्त्री राईले अधिकार दुरुपयोग गरेर आत्तिने र मात्तिनेका दिन समाप्त भईसकेको बताए ।
उनले होसियारपूर्वक दैनिक कार्यसञ्चालन गर्दै अगाडी बढ्नसके मात्रै संघीयता स्थापित हुनेमा जोड दिए । साना कमजोरी र त्रुटीलाई उछालेर पूरै संघीय व्यवस्थाप्रति बितृष्णा जगाउनेहरुले ढुकेर बसेको बताउँदै उनले स्थानीय तहका उजुरीको चाङ अख्तियारमा लाग्दै गएको बताए ।
दुईदिनसम्म चल्ने बैठकमा विगतका कामको समिक्षा र आगामी दिनका योजनाको विषयमा छलफल हुने जनाइएको छ ।