काठमाडौं, पुस २७ ।
प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम हुने भएको छ । प्रदेशसभामा स्थायी राजधानी तोक्ने सम्बन्धमा आज भएको मतदानमा प्रदेश राजधानी हेटौडाका पक्षमा १०५ सांसदले मतदान गरेका छन् ।
यो कुल सांसद संख्याको दुईतिहाई हो । प्रदेशसभामा जम्मा ११० जना सांसद रहेका छन् । हेटौडा राजधानी नबनाउने पक्षमा ३ मत परेको थियो । लामो रिक्ततालाई चिर्दै प्रदेश ३ प्रदेशसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेपछि आज मतदान भएको हो ।
प्रदेशसभाका ५ दलका १ सय १० जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्न सहमत नभएपछि मतदानको कार्यसूची तय भएको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको थियो । काभ्रेको धुलिखेल राजधानी होस् भन्ने पक्षमा जम्मा तीन मत थियो । नेकपा र काँग्रेसले राजधानी हेटौडा नै कायम गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ नै जारी गरेका थिए ।
प्रदेश ३ को नाम बाग्मती राख्ने सम्बन्धमा भने सर्वसम्मत निर्णय भएको थियो । हेटौडा राजधानी अपायक भएको भन्दै व्यापक विरोध हुदैं आएको छ ।