काठमाडौं, पुस २० ।
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले विहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि समय निर्धारण गरेको छ ।
१८ जना सदस्य छान्न २ हजार ५६ जनाले मतदान गर्ने आयोगले जनाएको छ । सातै प्रदेशमा हुने निर्वाचनका लागि उम्मेदवारले सम्बन्धित प्रदेशमा तोकिएका निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्नुपर्नेछ ।
उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।
मनोनयनको औपचारिक पत्र, दलित, अल्पसंख्यक वा अपांगता भएका समूहबाट निवार्चित हुने पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्नेछ ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो ।