चितवन, १७ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमा लेखेअनुसार आवश्यक कानुन संसोधन गर्ने, सामाजिक न्यायसहितको विकासका लागि उत्पादन प्रक्रियालाई तल्लो तहबाट राम्रो गर्न नसके उपलब्धि हाँसिल गर्न नसकिने बताएका छन् ।
उनले संविधानमा लेख्दैमा सबै कुरा आफै पूरा नहुने भन्दै संविधानमा लेखिएकाे मर्म पूरा गर्न काम गर्नुपर्ने बताए ।बिहीबार पूर्वी चितवनको टरौलीमा आयोजित नेपाल कृषि सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभा तथा तालिम भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘संविधानमा लेख्दैमा आफसेआप सबै ठिक भइहाल्छ भन्ने कुरा छैन । राम्रा कुरा लेख्दैमा संविधान आफै लागू हुँदैन, त्यसका लागि हामीले काम गर्नुपर्छ।’
किसानको जीविका र पेशालाई मर्यादित बनाएर अर्थतन्त्रलाई आत्मनिर्भरता बनाउन सकिने बताउदै उनले सहकारी आन्दोलन मुलुकको अर्थतन्त्र विकासका लागि अपरिहार्य तत्व भएको बताए ।