राजधानीसहित सबै प्रदेशमा भ्रमण वर्षकाे भव्य तयारी, काठमाडाैंमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

राजधानीसहित सबै प्रदेशमा भ्रमण वर्षकाे भव्य तयारी, काठमाडाैंमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • बुधबार, पुस १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, १६ पुस । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज बुधबार देखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलवार पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नु हुनेछ । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रूपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भ्रमण वर्षमा विदेशी पाहुना

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुग्नुभएको हो ।

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आउनुभएको छ । भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आउनुभएको छ । भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका चारै देशका पाहुनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्वागत गर्नुभएको छ ।

भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरू पनि काठमाडौँ आउनुभएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उहाँले बनाउनुभयो ।

भ्रमण वर्ष २०२० को बुधबार जनवरी १ (पुस १६ गते) भव्यरूपमा उद्घाटनका लागि सम्पूर्ण तयारी सकिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रूपमा मन्तव्य दिने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

जीडीपीमा पर्यटनको १० प्रतिशत योगदान: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको कम्तिमा १० प्रतिशत योगदा हुने गरी पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासको कामसँगै अघि बढाइने बताउनुभएको छ ।

उहाँले हालको तीन प्रतिशत योगदानलाई आगामी वर्षमा १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको सुनाउनुभयो । सरकारले १५ औँ पञ्चवर्षीय योजनामा प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रूपमा पर्यटनलाई लिएको छ । पाँच वर्षको अवधिमा कम्तीमा पर्यटन क्षेत्रबाट जीडीपीमा १० प्रतिशत योगदान पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई आधार मानेर आगामी सन् २०३० सम्म पर्यटक दशकको रूपमा मनाउने र त्यसले पर्यटनको अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रूपमा लिनुपर्ने बताउँदै यसलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

पर्यटनमा प्रदेश १ मा यसरी सुरू हुँदै  भ्रमण वर्ष
प्रदेश १ लाई आगामी १० वर्षमा विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएर नेपाल भ्रमण वर्ष–२०२० को कार्यक्रमकाे उद्घाटन भव्य रूपमा सहिद मैदान विराटनगरमा विभिन्न सांस्कृतिक झाँकीसहित उद्घाटन गर्ने कार्यक्रम छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले सरकारद्वारा घोषित सय गन्तव्यमध्ये १६ वटा यही प्रदेशमा पर्ने र प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक विविधता, कृषि, ग्रामीण जनजीवन र साहसिक पर्यटनको हिसाबमा प्रदेश १ लाई महत्वपूर्ण मानिने बताए ।

विश्वकै अग्लो सगरमाथादेखि नेपालकै होचो स्थान केचनासम्मको क्षेत्र भएकाले पर्यटन विकासका लागि यो प्रदेश महत्वपूर्ण मानिन्छ। नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन तथा अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकलाई लक्षित गरेर पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ।

प्रदेश २ मा उत्साहजनक सुरुवात
प्रदेश २ का आठवटै जिल्लामा बुधबार विभिन्न कार्यक्रम गरी पर्यटकलाई स्वागत गरिँदै छ। सिरहाको तीनवटा मुख्य नाकामा पर्यटकका स्वागतमा विशेष कार्यक्रम गरेर भ्रमण वर्ष मनाउने तयारी रहेको नेपाल भ्रमण वर्ष–२०२० का प्रदेश २ सदस्य राकेश गुप्ताले बताए। ठाढी, बरियारपट्टी र माडर नाकामा पर्यटकलाई फूलमाला लगाएर भिœयाउने कार्यक्रम रहेको गुप्ताले जानकारी दिए। भ्रमण वर्ष–२०२० का प्रदेश २ संयोजक मनीष झाका अनुसार कात्तिक १४ गते जनकपुरमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको हो।जनकपुरधामको जानकी मन्दिरमा २०२० वटा दियो बालेर भ्रमण वर्षको स्वागत गर्ने कार्यक्रम छ। मन्दिर परिसरमा दुई हजार बीसवटा बेलुन उडाइँदैछ। जानकी मन्दिरमा दर्शनका लागि आउने पर्यटकमध्ये दुई हजार बीसजनालाई माला लगाएर स्वागत गरिँदैछ।

गण्डकी प्रदेश समृद्धिको आधार पर्यटन बनाइने
गण्डकी प्रदेशमा भ्रमण वर्ष शुभारम्भलाई भव्य बनाउन दर्जनभन्दा बढी सांस्कृतिक झाँकीसहित प्रदेशका ११ वटै जिल्लाका उच्च पदाधिकारी, कर्मचारी, ८५ वटै स्थानीय तहबाट समेत पाहुनालाई आमन्त्रण गरेको गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले बताए ।

प्रदेश ५ मा ठाकुरद्वारबाट भ्रमण वर्ष शुभारम्भ
बाँके–बर्दियाका राष्ट्रिय निकुञ्जको प्रचारप्रसारलाई जोड दिँदै धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेर प्रदेश सरकारले ‘घुम्न जाऔं बर्दिया’ भन्ने नारा नै तयार गरेकेा छ ले।  बर्दियाको ठाकुरद्वारमा बुधबार भ्रमण वर्षकाे समाराेह प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नेछन्।

कर्णालीमा बुलबुलेबाट शुभारम्भ
कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने भएको छ। प्रदेश सरकारले भ्रमण वर्षमा एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

सुदूरपश्चिममा भव्य तयारी
नेपाल भ्रमण वर्षको पहिलो दिन सुदूरपश्चिम प्रदेश सरकारले भारतीय सीमा नाका धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा स्वागतद्वार बनाएर भारतीय नाकाबाट आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेकेा छ। गौरीफन्टा नाकामा धनगढी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र नेपाल पर्यटन व्यवसायी संघ (नाटा) ले स्वागत गर्नेछन् भने कञ्चनपुरका गड्डाचौकीमा त्यहाँको भीमदत्त नगरपालिका, कञ्चनपुर उद्योग वाणिज्य संघले पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नेपाल भ्रमण वर्ष तयारी समितिका सम्पर्क व्यक्ति भोजराज पाठकले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ