विराटनगर, ७ पुस ।
भ्रमण वर्ष २०२० लाई भव्य बनाउन प्रदेश १ ले उद्घाटनकै दिनदेखि नेपाल चिन्ने र नेपाललाई चिनाउने अभियानसहितका कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी पुस १६ गते विराटनगरमा भ्रमणवर्षको शुभारम्भ गर्ने कार्यक्रमसँगै प्रदेश सरकारले एकवर्षको अवधीमा समिट सम्मेलनको समेत आयोजना गर्ने भएको छ ।
भ्रमणवर्ष २०२० प्रादेशिक मुल आयोजक समितिको आइतबार विराटनगरमा बसेको बैठकमा आयोजक समितिका संरक्षक एवं मुख्यमन्त्री शेरधन राईले एकवर्ष भित्रै समिट सम्मेलन गर्ने कार्ययोजना ल्याइने बताउनु भएको हो ।
मुख्यमन्त्रीको प्रमुख उपस्थितिमा बसेको बैठकमा समिट सम्मेलनको कार्यक्रमलाई प्रस्ताव गर्दै त्यसको कार्ययोजना तयार गर्न विभागिय मन्त्रालयलाई निर्देशन दिइएको छ । आठ हजार मिटर उचाईका हिमालको आरोहण गर्ने आरोही सम्मिलित समिट सम्मेलन आयोजना गरेर प्रदेश १ लाई विश्वमा चिनाउने अभियान चलाउने कार्यक्रम राखिएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतलाई भ्रमणवर्ष २०२० को उद्घाटनपछि प्रदेशभरमा आयोजना गरिने कार्यक्रम समेत पेश गर्न बैठकमा मुख्यमन्त्री राईले निर्देशन दिनु भएको छ । निजी क्षेत्र समेत सम्मिलित आयोजक समितिको बैठकमा मुख्यमन्त्रीसहित प्रदेश १ का सात मन्त्रालय अन्तर्गतका पाँच मन्त्री, सचिव तथा सुरक्षा संयन्त्रका प्रमुखको उपस्थिति रहेको थियो ।
एक वर्षमा प्रदेश १ मा ५० गन्तव्यको पहिचान गर्ने र दशवर्षे गुरुयोजना तयार गरेर पूर्वाधार विकास गरिने बैठकमा मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले भ्रमण वर्षको अवधीमा नेपालीले नेपाल चिन्ने र विदेशीलाई नेपाल चिनाउने अभियानसहित प्रदेशको महत्वलाई बढीभन्दा बढी प्रचार गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमलाई भव्य बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । मूल आयोजकसहित १२ उपसमितिहरु गठन गरिएको छ । यसैगरी उद्घाटनलाई भव्य बनाउन सुरक्षा व्यवस्थासहितको तयारी गरिएको विभागिय मन्त्री कुसियैतले जानकारी दिनुभयो ।