काठमाडौं, पुस ६ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक लम्बिएको छ । गत आइतबार देखि जारी नेकपाको स्थायी कमिटिको बैठक अमेरिकासँग भएको एमसीसी सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा बहस चुलिएसँगै बैठक लम्बिएको हो ।
हिजो नै सकिने तयारीमा रहेको स्थायी समिति बैठक एमसीसीबारे अस्पष्टता भएपछि त्यस बारे पुनः छलफल अघि बढाउन आज विहान ११ बैठक बस्न लागेको हो ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौताबारे समितिमा सरकारबाट स्पष्टता खोजिएको छ । उक्त सम्झौता इन्डो प्यासिफिक स्ट्रयाटेजीको अंग हो की हैन भनेर स्थायी समिति सदस्यहरुले स्पष्टता माग गरेका हुन् ।
यस्तै आजको बैठकमा अध्यक्षद्धय केपी आली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पनि थप छलफल गरी पारित गर्ने तयारी छ ।
हिजो बसेको बैठकमा अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले क्रमशः राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिए पनि सदस्यहरुले थप स्पस्ट पार्न दबाब दिएपछि प्रतिवेदन पारित हुन सकेको थिएन ।
एकजना केन्द्रीय उपाध्यक्ष थप्ने र तत्काल सचिवालय सदस्यको संख्या नबढाउने निर्णयमा सहमति भएपनि औपचारिक निर्णय आजको बैठकले गर्ने नेकपाले जनाइएको छ ।