काठमाडौं, पुस ५ ।
मेलम्ची खानेपानी आयोजनामा नयाँ नियुक्त भएको चिनियाँ ठेकेदारको प्रारम्भिक कार्यसम्पादन सन्तोषजनक पाइएको छ । ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीव्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
करिब एक महिनाको प्रगति सन्तोषजनक रहेकाले लक्ष्यअनुसार नै चिनियाँ ठेकेदारले काम पूरा गर्ने आशा आयोजनाका एक अधिकारीले व्यक्त गरे । सुरुङमा २५ हजार वटा ड्रिल गर्नुपर्नेमा ६० प्रतिशत काम भइसकेको ती अधिकारीले जानकारी दिए । करिब १४ हजार ड्रिल भइसकेको र अरु काम पनि सन्तोषजनक रहेको आयोजना सम्बद्ध अधिकारी बताउँछन् ।
आयोजनाले सिनोलाई समय आगावै काम सकेमा दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ । छिटो काम सकेमा बाँकी दिनको गणना गरेर प्रतिदिन ठेक्का रकमको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिइने छ । यदि काममा ढिलाइ भए सिनोले पनि ढिला भएको दिनको गणना गरेर प्रतिदिन त्यतिकै दरले जरिवाना तिर्नुपर्ने हुन्छ ।
खानेपानी मन्त्रालयले नै मेलम्ची आउने समयसीमाबारे अब नबोल्ने नीति लिएको छ । ठेकेदार सिनोले हेडवर्क्सको लागि बाँध निर्माण गर्न पनि काम थालेको छ । सुरुङतर्फका अन्य प्राविधिक काम पनि समानान्तर रुपमा अघि बढाएको छ । जसका कारण अबको ११ महिनाभित्र मेलम्चीको पानी सुरुङमा हाल्न सकिने अपेक्षा आयोजनालाई छ ।