पुस ४, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरी स्थगित भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि आगामी पुस ९ गते सम्मका लागि बैठक स्थगित गरिएको हो ।
सहमतिका लागि भन्दै २ दिन स्थगित गरी आजका लागि बोलाइएको बैठक पनि सहमती जुट्न नसकेपछिसछि पुस १० गते बस्नेगरी स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्काे बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको हो ।
संस्थापन र इतर पक्षबीचमा भ्रातृ संगठन र विभाग गठनमा सहमति हुन नसक्दा केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ ।
संस्थापन पक्षले भ्रातृ संगठन र मुख्य विभाग पाउनुपर्ने अडान लिएपछि इतर पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पेलेरै जान खोजेको भन्दै इतर पक्षले यसअघिका बैठक बहिस्कार गर्दै आएको थियो । यस बीचमा सहमतिका लागि विभिन्न प्रयास भएपनि दुबै पक्षले अडान नछाडेपछि अन्योलता बढेको हो ।
उपनिर्वाचनको समिक्षासँगै भ्रातृ संस्था तथा विभाग गठन लगायतकाबारे छलफल गर्न भन्दै कग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो । तर पौडेल पक्षले महाधिवेशनको कार्यतालिका र विभाग गठनको विषयमा आफ्नो अडान राख्दै बैठक बहिस्कार गर्दै आएको छ ।
आन्तरिक विवाद चुलिँदै गएपछि सभापति देउवाले वार्ता समिति गठन गरि छलफललाई निरन्तरता दिएपनि सहमतिको संभावना न्युन देखिएको हो ।
यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले भागबण्डाका लागि नभई न्यायका लागि पार्टीमा संर्घष गरेको बताउनुभएको छ ।
पछिल्लो समय केन्द्रिय कार्यसमिती बैठक बहिस्कार गर्दै आउनुभएका वरिष्ठ नेता पौडेलले आफ्नो लडाई बेतिथी अन्त्यका लागि मात्र भएको दाबी गर्नुभयो । सभापति शेर बहादुर देउवाले पार्टीलाई गलत ढङ्गले सञ्चालन गरेको भन्दै वरिष्ठ नेता पौडेलले त्यसलाई सही बाटोमा ल्याउन आफूहरु लागि परेको उल्लेख गर्नुभयो ।