काठमाडौँ, पुस ३ ।
नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले पार्टीको विवाद समाधानका लागि अडान छोड्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नु भएको छ । पौडललाई भेट्न आज बिहान बोहोराटार पुगेका गच्छदारले समस्या समाधानका लागि आपसी खिचातानीभन्दा मिलेर अगाडि बढ्न नेता पौडेललाई आग्रह गर्नु भएको हो ।
पार्टीको समस्या समाधानका लागि खिचातानीभन्दा पनि एक जुट भएर अगाडी बढ्नु पर्ने भन्दै उहाँले पार्टी कमजोर भएको बेला एकीकरण भएमात्र विपक्षीलाई तह लगाउन सकिने बताउनुभयो ।
पौडेललाई भेटे लगत्तै गच्छदार सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठतर्फ लागेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । कांग्रेसमा देखिएको विवाद समाधानका लागि अनौपचारिक वार्ता समितिले छलफल जारी राखेको बेला अन्य नेताहरुले पनि नेतृत्वलाई दबाब दिन थालेका छन्।
प्रवक्ता शर्माका अनुसार नेताहरु प्रदीप गिरी, नरहरि आचार्यले पनि आज नै देउवा र पौडेलसँग छलफल गर्दै हुनुहुन्छ । कांग्रेस १४ औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन, तरुण दलको म्याद थप र कार्यसमिति विस्तार तथा विभाग गठन लगायत विषयको विवादमा रुमल्लिइ रहेको छ ।