काठमाडौँ, पुस ३ ।
सङ्घीय–संसद्को पाँचौँ अधिवेशन भोली देखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकको अध्यक्षता उप सभामुख शिवमाया तुम्बाहाफ्ेले गर्नु हुनेछ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने उहाँको अडानमा नेकपा नेतृत्व सहमत भएपछि भोलीको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुने भएको छ ।
प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने भनिएको छ । नेकपाले सभामुख निर्वाचनका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न भनेको छ ।
उहाँले सभामुखमा दाबी गरिरहनु भएको छ । पहिलो बैठकको शुरु गरेरमात्र राजीनामा दिने उहाँको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ । प्रतिनिधिसभा नियमावलीले नबोले पनि उपसभामुखले बैठकको अध्यक्षता गर्न लागेको संसद सचिवालय स्रोतले जनाएको छ ।
पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख नभएको अवस्थामा उसले गर्ने काम उपसभामुखलाई गर्न नियम कानुनले नरोकेको बताउनु भयो । तुम्बाहाम्फेले बिधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने सबै काम गर्न थालेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले बिरोध गरेको छ ।
नेकपा स्रोतका अनुसार पहिलो बैठकको शुरुवात गरेर सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिनेछिन् । नेकपाले कसलाई सभामुख बनाउने भन्ने टुंगो लगाइसकेको छैन । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको काम कारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ ।