काठमाडौँ २९ मंसिर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अहिले बसिरहेको छ । पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा ५ ओटा एजेण्डा छलफलका लागि प्रस्तुत भएका छन् ।
सचिवालयले निर्धारण गरेका ५ वटा एजेण्डामाथि बैठकमा छलफल भईरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनसहित ५ वटा कार्यसूची बैठकमा पेस भएका हुन् । सत्तारुढ नेकपाले भारतले गरेको सीमा अतिक्रमणलाई पार्टी बैठकको औपचारिक एजेन्डा बनाएको छ । स्थायी कमिटी बैठकमा सीमा अतिक्रमणको विषयलाई औपचारिक एजेन्डा बनाउने आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले निर्णय गरेको थियो ।
भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भू–भागलाई पारेको भन्दै नागरिकस्तरबाट विरोध भएको छ ।
अतिक्रमण विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विषेश दूत बनेर भारत जान पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव पनि गरेका थिए । त्यसै अनुरुप नेता नेपालले तयारी गरेका थिए । तर, भारतीय पक्षले भेटघाटको समय तालिका नमिलाउँदा प्रधानमन्त्रीको यो योजना सफल हुन सकेन ।

त्यसअघि भारतीय नक्सा सार्वजनिक भएलगत्तै सरकारले कात्तिक २० गते विज्ञप्ति निकालेर कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको थियो । कात्तिक २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिनुभएको थियो ।
सर्वदलीय बैठक र जनस्तरबाट भएको विरोधलगत्तै सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल थालेको थियो ।
त्यसैका आधारमा प्रधानमन्त्रीले विशेष दूत पठाएर समस्याको समाधान खोज्न चाहेका थिए । तर, यसमा भारतीयपक्षले अनुदार नीति लिएपछि सत्तारुढ नेकपाले यसलाई आइतबारको स्थायी कमिटी बैठकमा औपचारिक एजेन्डा बनाएर छलफल गर्दैछ । बैठकमा अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने सहभागी हुनुभएको छैन । अस्वस्थ्यताका कारण बैठकमा सहभागी नभएको जनाईएको छ ।