काठमाडौं, २९ मंसिर ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले आजै अपरान्ह बस्ने स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनसहित पाँच कार्यसूची बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने केहिक्षण बसेर बाहिरिनुभएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो स्वास्थ्यबारे जानकारी दिएर बिचैमा निस्नुभएको हो । पार्टी सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि उहाँले जानकारी दिनुभयो ।
दिउसो एक बजेदेखि बस्ने भनिएको स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरिएको र आजै प्रस्ताव गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
स्थायी समितिमा पेस हुने राजनीतिक प्रतिवेदनबारे दुवै अध्यक्षबीच परामर्श भइसकेको पनि श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार वामदेव गौतमलाई उपाध्यक्ष बनाउने यसअघिको निर्णय कार्यान्वयन गर्नका लागि विधान संशोधन प्रस्तावसमेत बैठकमा पेस हुँदैछ।
आजै बस्ने स्थायी समिति बैठकमा नेपाल–भारत सीमा समस्याका बारेमा विशेष प्रस्तावसमेत पारित हुनेछ भने बैठकले केन्द्रीय समितिको बैठकसमेत आह्वान गर्ने प्रवक्ता श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पाँच कार्यसूचीसहित विविध विषयबारे स्थायी समिति बैठकमा छलफल हुनेछ।
बालुवाटारमा सचिवालय बैठक बसे पनि झन्डै एक वर्षपछि स्थायी समिति बैठक पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा बस्न लागेको हो । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो । यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।
उक्त बैठकमा अध्यक्ष ओली जाने÷नजाने टुंगो लागिसकेको छैन । स्वास्थ्य कारण बैठकमा ओली जान नसके कार्यकारी अधिकार पाएका अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गर्नुहुनेछ ।