काठमाडौं, मंसिर २९ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज बस्दैछ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो ।
यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन । एक वर्ष बीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समिति अगाडि सचिवालय बैठक बस्नेछ । सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ ।
गत सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको हो । दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेण्डा र अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल भएको बताइएको छ ।
एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिन सक्ने तयारी छ । स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन् ।