‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै, नेता गौतम तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बन्दै

‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै, नेता गौतम तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बन्दै

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, २७ काठमाडौं ।
संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विधानबाट ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई हटाइने भएको छ ।

पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको छ । साथै ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुगिनेछ’ भन्ने उल्लेख भएकामा अब ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धी’ हालको बहसलाई संस्थागतरूपमा अन्त्य गर्न खोजिएको देखिन्छ । एकताअघि तत्कालीन नेकपा ९एमाले० ले जनताको बहुदलीय जनवाद र तत्कालीन नेकपा ९एमाओवादी केन्द्र० ले एक्काइसौँ शताब्दीको जनवादको नीति अँगालेका थिए ।

आसन्न स्थायी कमिटीको बैठकमा पेस हुने विधान संशोधनको प्रस्तावमा नेकपाले यसअघिको स्थायी कमिटी र सचिवालय बैठकका निर्णयका आधारमा उपाध्यक्ष पद सिर्जनासहित वैचारिक विषयमा विधानको प्रस्तावनामा परिमार्जन गर्न लागेको हो । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले पारित गरेको यो प्रस्ताव स्थायी कमिटी हुँदै आवश्यकतानुसार केन्द्रीय कमिटी बैठकमा समेत लगिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । विधान संशोधन हुँदा पार्टीको रणनीतिक लक्ष्य ‘वैज्ञानिक समाजवाद’ र तात्कालीक कार्यनीति ‘समाजवादोन्मुख जनवाद’ समावेश हुने उहाँको भनाइ छ । नेपालको संविधानमा समेत समाजवादोन्मुख समाजको परिकल्पना गरिएको छ ।

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेको नेकपाको स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते बस्दैछ भने त्यसको तयारीका लागि आजका लागि तय गरिएको सचिवालयको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगन भएको छ ।

नेकपाको विद्यमान विधानको प्रस्तावनामा जबजको विशेषतासँग मिल्दो ‘यो पार्टी समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै मानवजातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ । यस पार्टीले स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ’ जस्ता शब्दावली उल्लेख छन् ।

तत्कालीन एमालेका महासचिव जननेता मदनकुमार भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्र्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको ‘जबज’ लाई कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणका लागि पृथक र लोकप्रिय मानिन्छ । यद्यपि, मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गइसकेपछि तत्कालीन एमालेभित्र जबजको परिमार्जनबारे बहस भएको थियो । तत्कालीन माओवादी केन्द्र र कतिपय कम्युनिष्ट घटकले ‘जबज’ संसदीय राजनीतिक प्रणालीकै पक्षमा रहेकाले यसबाट जनवादी क्रान्ति पूरा नहुने टिप्पणी गर्दै आएका थिए ।

जबजका मुख्य विशेषता ‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता’ लाई भने नेकपाको विधानले समेटेको छ ।

पार्टीको स्कुल विभागमा समेत काम गर्नुभएका नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले नाम जेसुकै राखिए पनि जबजको विशेषता र जनवादको कार्यक्रम हुँदै समाजवादको लक्ष्यमा पार्टी अघि बढ्न कुनै समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जबजको विशेषतालाई हामी अहिले मेट्न सक्दैनौँ । तत्कालीन कार्यक्रमको नाम जे राख्दा पनि त्यस विशेषतामा फरक पर्दैन ।”

जबजबारे प्रशिक्षण गर्दै फाउण्डेसन

नेकपाकै विचारसँग जोडिएको मदन भण्डारी फाउण्डेसनले पार्टी विधान परिमार्जन भए पनि ‘जबज’बारे अभियानकै रूपमा देशव्यापी प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । फाउण्डेसनका सचिव पेम्बा लामाले जबजको सैद्धान्तिक वैचारिक तथा राजनीतिक पक्षलाई समृद्ध बनाउँदै यसका विविध आयामबारे अध्ययन, अनुसन्धानसमेत गर्न र गराउन तयारी भइरहेको जानकारी दिनुभयो ।

चितवनको दासढुङ्गामा २०५० जेठ ३ गते भएको जिप दुर्घटनामा परी नेता भण्डारीको निधन भएपछि उहाँको बहुआयामिक जीवनका सम्पूर्ण विवरणलाई सुरक्षित राख्न र जबजको प्रवद्र्धन र विकास गर्न एवं सामाजिक कामका लागि विसं २०५६ असोज ५ गते फाउण्डेसनको स्थापना भएको थियो ।

नेता वामदेव गौतमलाई तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बनाउने

एकीकरण लगत्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त नेतृत्वमा चल्दै आएको नेकपाले तेस्रो शक्तिका रूपमा नेतृत्वमा बामदेव गौतमलाई स्थापित गर्दैछ । गौतमलाई शक्तिशाली नेता बनाउन सचिवालमार्फत पार्टी विधान संशोधनको तयारीमा रहेको नेकपाले अध्यक्षले प्रयोग गर्दै आएको शक्तिसमेत गौतमलाई हस्तान्तरण गर्ने गृहकार्य अन्तिम चरणमा छ ।

नेता वामदेव गौतमलाई तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बनाउने गरी केन्द्रीय सचिवालयले स्थायी समितिमा विधान संशोधन प्रस्ताव लैजाने प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।

यो प्रस्ताव मंसिर २९ गते आइतबार बोलाइएको स्थायी समिति बैठकमा पेश हुनेछ । गत २३ मंसिरमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने र विधानको प्रस्तावनामा रहेको नीतिगत अस्पष्टता सच्याउन विधान संशोधन गर्ने निर्णय गरेको थियो ।

तेस्रो वरीयतामा रहने उपाध्यक्षलाई अध्यक्षको काममा सहयोग गर्ने, अध्यक्ष नभएको बेला बैठकको अध्यक्षता गर्ने र पार्टीले दिएका अन्य जिम्मेवारी निर्वाह गर्ने अधिकार दिइन लागेको हो ।
अधिकारका हिसाबले अध्यक्षपछिका शक्तिशाली बन्न लागेका गौतमको पार्टी वरीयता भने चौथो स्थानमा रहनेछ । पहिलो वरीयतामा अध्यक्षद्वय ओली र प्रचण्ड छन् भने दोस्रोमा झलनाथ खनाल र तेस्रोमा माधव नेपाल छन् । गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गर्नुपर्छ । भोलि बस्ने बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव अनुमोदनसँगै पार्टी विधान संशोधनको मस्यौदालाई पनि अन्तिम रूप दिने पार्टी प्रवक्ता श्रेष्ठ बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ