कन्चनपुर मंसीर २१ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेतीमहाकाली ब्यूरोका ईन्चार्ज ओम पुनले सरकारले अघोषित युद्ध थुपारेर पार्टीलाई जनताबाट र बैधानिक बाटोबाट अलग गर्न खोजेको भन्दै पार्टीले फायर नखोलेको बताउनु भएको छ ।
जनपत्रकार सङ्गठन, नेपाल सेती महाकाली समन्वय समितिले आयोजना गरेको जनपक्षीय पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै नेता पुनले सरकारको दमनले पार्टीलाई केही प्रभाव पारे जस्तो देखिए पनि आफूहरु फरक ढंगले अगाडि बढिरहेको र यसले पार्टीलाई थप सुद्धीकरण र सुदृढीकरण गर्न सहयोग पुगेको दाबी गर्नु भयो ।
आफूहरुले अहिले युद्ध नचाहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पुनले क्रान्ति मात्र गर्न खोजेको बताउनुभयो । उहाँले एकै खालको मात्र लडाइँ नलडेर अब एकीकृत ढंगले लड्नका लागि एकीकृत जनक्रान्तिको कार्य्दिशा अगाडि बढेको समेत उल्लेख
गर्नुभयो । अहिलेको सरकार निरंकुश बनिरहेको भन्दै नेता पुनले भन्नुभयो,’अहिलेको सरकार पञ्चायतपछि प्रेसप्रति सबैभन्दा अनुदार बनेको छ ।
नेता पुनले अहिलेको सरकार दलालहरुको नियन्त्रणमा रहेको र यसले जनताको माग सम्बोधन गर्न नसक्ने टिप्पणी बताउनु भयो ।
नेपाल अहिले विश्व शक्ति केन्द्रको क्रिडास्थल बन्दै गएको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो ।
आफूहरुले १० वर्षसम्म युद्ध लडेर ल्याएको गणतन्त्र र संघीयताले कुनै माग सम्बोधन गर्न नसकेको नेता पुनको जिकिर थियो । उहाँले भन्नुभयो,’ हिजो माग राख्ने पक्षहरु बाहिर छन्, जातीय स्वशासन क्षेत्रीय उत्पीडनका पक्षमा आवाज उठाउनेहरु आज बाहिरै छन् आवाज नउठाउँनेहरु सत्तामा छन्, जसलाई जुन विषय चाहिएकै थिएन उनीहरु सत्तामा रहँदा कसरी जनताका माग सम्बोधन गर्न सक्छ यो अनौठो भएको छ ।’
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
जनपत्रकार संगठन,नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, कोषाध्यक्ष जानकी चौधरीले प्रशिक्षण दिनुभएको थियो ।