काठमाडौं, १६ मंसिर । शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा सार्वजनिक भएकाे छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो।
स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पदमा उपनिर्वाचन भएको हो । जसमध्ये ३० पदमा सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी(नेकपा)का उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधि सभा १, प्रदेशसभा सदस्य २, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष्य र २३ वडाध्यक्ष पदमा नेकपाले जित हात पारेको हो । १ प्रदेशसभा सदस्य, एक उपमहानगर पालिका मेयर र १२ वडाध्यक्ष गरी १४ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन्। एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
उपनिर्वाचनमा नेकपा र कांग्रेस दुबैलाइ साेचेजस्ताे परिणाम आएन
अघिल्लो निर्वाचनमा गठबन्धन मात्र बनाएर निर्वाचनमा सहभागी भएको नेकपाले उपनिर्वाचनमा एकीरकण भएपनि साेचेजस्ताे मत पाउन सकेन भने प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि सामान्य राहत बाहेक उत्साह थप्न सकेन ।
अघिल्लो निर्वाचनमा नेकपाले जितेको कास्की २ अहिले पनि नेकपाले आफ्नै पक्षमा पार्याे तर भोफपुर र धरानमा पराजित भयाे । कास्कीमा स्वर्गिय रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईले जितिन भने दाङको ३ ख मा पनि नेकपाले तत्कालीन सांसद उत्तरकुमार ओलीको निधनपछि रिक्त क्षेत्रमा नेकपाले उनकै श्रीमती बिमला खत्रीलाई टिकट दिएकाेमा उनी पनि विजयी भइन् ।
भक्तपुर १ (क) को निर्वाचनमा दुई हजार पाँच सय मतले अघिल्लो निर्वाचनमा पराजित भएका काँग्रेस उम्मेदवार कृष्ण भडेलले अहिले १३ हजार ४ सय ४९ मत पाए भने नेकपाका डिपी ढकाल ११ हजार २ सय ६ मा सिमित बनेका छन् ।
बाग्लुङ प्रदेश २ (ख) मा नेकपाले सहयोग गरेका उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार ८ सय १४ मतसहित विजयी भएका छन् भने कांग्रेसका जित शेरचनले ९ हजार १ सय ३८ मत ल्याएका छन् ।
यद्यपी काँग्रेसले यस क्षेत्रमा ५ सय २६ मत बढाएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा भने कांग्रेसले निकै सुधार गरेको छ । यसअघि दुई पार्टीको मत जोड्दा लगभग आठ हजार भन्दा बढी मतान्तरमा रहेको कांग्रेसले अहिले करिब ३ हजार मतान्तरमा जित हात पारेको छ ।
बहुदलपछि पहिलो पटक काँग्रेसले यस क्षेत्रमा जित हासिल गरेको हो । काँग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख बनेका छन् ।
यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिकामा यसपटक नेकपाले जितेको छ । संखुवासभाको मकालु गाउँपालिका प्रमुख र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा पनि नेकपाले जित हात पारेको छ । यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिाकामा अहिले नेकपाले जित हात पारेको छ । मुख्य दुई दल सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच केही वडाहरु भने हेरफेर भएका छन् ।