सर्लाही, १४ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला परेको छ। मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएकाे छ ।
अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मोबाइलमा ८:०५ को समयपनि निर्धारण गरिएको थियो।
फेला परेको अम्खोरामा पि ए के विस्फोटक पदार्थ भरिएको थियो। विस्फोट हुनुभन्दा अगाडीनै सुरक्षाकर्मीले जानकारी पाएको थियो। बम भनिएको उक्त विस्फोटक पदार्थलाई रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
यस्तै, लमजुङमा पनि मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला बम विस्फोट भएको हो।
मतदाता तर्साउन अज्ञात समूहले मतदान केन्द्रको डेढसय मिटर पर टाइम बम विस्फोट गराएको हो । ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरुकाे भागाभाग भएकाे थियाे । अहिले भने स्थिति सामान्य छ । मतदान जारी छ।