पर्यटनमार्फत विकास र समृद्धि पछ्याउँदै लाबुअन बाजो

पर्यटनमार्फत विकास र समृद्धि पछ्याउँदै लाबुअन बाजो

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

सोमनाथ लामिछाने
इण्डोनेशिया घुम्न जाने जो कोहीको पहिलो रोजाइमा सुन्दर शहर बालीकै नाम अग्रपंक्तिमा आउँछ । वर्षौंदेखि यस शहरले विश्वका करोडौँ मानिसलाई प्रत्येक वर्ष लोभ्याइरहेको छ ।

दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा बाली मात्र होइन, जैविक विविधताले भरिएका अरु धेरै बाली विश्वलाई नै मोहित तुल्याउने क्षमताका छन् । झण्डै १७ हजार साना–ठूला द्वीपले बनेको द्विपीय राष्ट्र इण्डोनेशियाका अद्भूत र अनौठा विशेषताले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । भनिन्छ, मानिसले आजीवन इण्डोनेशियाका द्वीप घुमे पनि सबै विशेषता पत्ता लगाउन हम्मेहम्मे पर्दछ ।

हिन्द र प्रशान्त महासागरको बीचमा छरपस्ट यी द्वीपहरु देख्दै अचम्मलाग्दा छन् । कुनै ठूला छन् त कुनै समुद्रको बीचमा एउटा चुच्चेढुङ्गो मात्र ठिङ्ग उभिएको छ । साना–ठूला जहाजहरु यी द्वीपलाई छलेर यताउता गर्दै हिँड्न बाध्य हुन्छन् ।

अलि ठूला द्वीपमा भने मानव बस्ती छ । लामो समय पोर्चुगल, बेलायत र फ्रान्सपछि पछिल्लोपटक करीब ३५० वर्ष डच ९नेदरल्याण्ड्स०हरुको उपनिवेश रहेको इण्डोनेशियाका यी द्वीपमा बसोबास गर्ने मानिस पनि अनेक धर्म, सम्प्रदाय, भाषा, ३०० भन्दा बढी जाति–जनजाति, आदिवासी र आर्थिक हैसियतमा बाँडिएका छन् । इण्डोनेशिया औपचारिकरूपमा सन् १९४९ मा डचबाट स्वतन्त्र भएको थियो ।

करीब २७ करोड जनसङ्ख्या रहेको इण्डोनेशियामा बहुसङ्ख्यक मुस्लिम समुदायका मानिस छन् । यो विश्वकै मुस्लिम समुदाय सबैभन्दा बढी रहेको राष्ट्र हो । तैपनि यस मुलुकलाई ‘विविधतामा एकता’को सूत्रका रुपमा सबैले आत्मसात गरेको पाइन्छ ।

विश्व प्रसिद्ध पर्यटकीय नगर बालीझैं पर्यटकको आकर्षण बोकेको अर्को क्षेत्र हो इण्डोनेशियाको सुदूरदक्षिणमा अवस्थित पूर्वी नुसा टेंगारा प्रान्तको फ्लोरेसस्थित लाबुअन बाजो द्वीप । सन् २०१४ को सरकारी तथ्याङ्कअनुसार झण्डै ५० लाख जनसङ्ख्या रहेको फ्लोरेसमा झण्डै ९६ प्रतिशत इसाई धर्मावलम्बीका मानिसको बसोबास छ ।

इण्डोनेशियामै सबैभन्दा गरिबीको चपेटामा रहेको यस द्वीपमा सरकारले पछिल्लो समय पर्यटन प्रवद्र्धनका कार्यलाई आक्रामकरूपमा अघि बढाएको छ । उब्जनी खासै नहुने, जताततै स–साना पहाडी थुम्का देखिने र कतैकतै स–साना बस्ती देखिने यो ठाउँ प्राकृतिकरूपमा भने धनी छ ।

बालीको डेन्पसार विमानस्थलबाट करीब ४५ मिनेटको हवाईयात्रामा पुग्न सकिने लाबुअन बाजोमा अन्तर्राष्ट्रिय विमान सेवा पनि सञ्चालन गर्न मिल्ने घरेलु हवाई मैदान छ । यहाँ दैनिक २० भन्दा बढी आन्तरिक उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यी उडानहरु इण्डोनेशियाको बाली, सुराबाया र जकार्ताबाट हुने गरेका छन् ।

 

पानीजहाजबाट पनि यहाँ अन्यत्रबाट पर्यटकहरु आउने गरेका छन् । लाबुअन बाजोमा पर्यटकको सङ्ख्या बढेसँगै नयाँ–नयाँ सुविधासम्पन्न होटल, रेष्टुराँ र रिसोर्ट खुल्नुका साथै साना–ठूला डुङ्गा एवं क्रुज व्यवसाय निकै फस्टाउन थालेको छ । लाबुअन बाजोमा पर्यटक पथप्रदर्शकको कार्य गरिरहेका स्थानीयवासी रोड्रिगो गोन्जालेसले यहाँ हरेक वर्ष पर्यटक आगमन बढेसँगै स्थानीयवासीले राम्रो आयआर्जन गर्न थालेको बताउनुभयो ।

बन्जर र सुक्खा ठाउँ भएकाले माछा मारेर जसोतसो दैनिक गुजारा चलाउने यहाँका स्थानीयवासीका लागि अहिले पर्यटनसँग सम्बन्धित कामहरु नै सबैभन्दा राम्रो आयस्रोत बनेको उहाँको भनाइ छ । पर्यटकहरुका लागि लाबुअन बाजोमा सामुद्रिक दृश्यावलोकन, सूर्योदय र अस्त, डुङ्गा सयर, सामुद्रिक तट९बिच०हरुमा विचरण तथा स्थानीयवासीका परम्परागत नृत्य सदैव नयाँ–नयाँ सम्भावनासहित हाजिर छन् । यतिले मात्र लाबुअन बाजो चिनिन्न ।

लाबुअन बाजोको मुख्य बन्दरगाहबाट करीब चार घण्टा क्रुजको यात्रा गरेर पुगिने विश्व सम्पदा सूचीमा सूचीकृत कोमोडो राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख आकर्षक केन्द्र हो । यहाँ पादर द्वीप, पिन्क बिच, समुद्रभित्र डुबुल्की मारेर देखिने ‘कोरल रिफ’को अद्भूत दृश्य तथा कोमोडो ड्रागन ९ठूलो गोहोरो० ले पर्यावरणमा अभिरुचि राख्ने हरेकलाई आनन्दित तुल्याउँछ ।

इण्डोनेशियाको पादर द्वीपको करीब ६०० सिँढी उक्लिएपछि देखिने पहाडले समुद्रलाई तीनतिर काटेको दृश्य र कोमोडो ड्रागनलाई इण्डोनेशियाको कागजी मुद्रा ९रुपियाँ० मा समेत प्रिन्ट गरिएको छ । दुर्लभ कोमोडो ड्रागन सरिसृप प्रजातिको ठूलो गोहोरो हो । कोमोडो राष्ट्रिय निकुञ्जको आकर्षक यस जनावरले मानिससमेत निकुञ्जमा पाइने गाई, भैँसी, हरिण, बाँदरजस्ता साना–ठूला सबै किसिमका जनावरलाई शिकार गर्ने निकुञ्जका नेचर गाइडहरु बताउँछन् ।

उनीहरुका अनुसार यो जीवको लम्बाइ चार मिटरसम्म हुन्छ । दैनिक सरदर ५०० पर्यटक यहाँ आइपुग्ने गरेको उनीहरुको भनाइ छ । लाबुअन बाजोमा रहेको सुविधासम्पन्न आयना कोमोडो रिसोर्टका महाप्रबन्धक निकोलास प्रिसनिजले लाबुअन बाजोमा एक वर्षभित्रै अन्तरराष्ट्रिय उडान शुरु गर्न तयारी भइरहेको, होटल र रेष्टुराँ धमाधम खुलिरहेको बताउँदै फ्लोरेस द्वीपमा आगामी दिनमा पर्यटकको सङ्ख्या अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

बालीसँग यस द्वीपलाई तुलना गर्न नसकिने बताउँदै उहाँले लाबुअन बाजो र आसपासको क्षेत्रमा रहेका प्राकृतिक छटा अन्यत्र कतै नपाइने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्र नयाँ गन्तव्य हो र अहिले सबैभन्दा बढी पर्यटक इण्डोनेशियाका रहे पनि क्यानडा, अमेरिका, अस्ट्रेलिया, दक्षिण अमेरिका, युरोपसमेत विश्वभरका विदेशी पर्यटकको सर्वाधिक खोजीको गन्तव्यमा पर्न थालेको बताउनुभयो ।

नेपालबाट पछिल्ला वर्षमा करीब १५ हजार व्यक्ति बालीको भ्रमणमा आउन थालेको बताउँदै बङ्गलादेशका लागि इण्डोनेशियाली दूतावासमा सांस्कृतिक विभागकी प्रमुख एवं तृतीय अधिकृत मुर्नी न्यारिस्ती नेपालबाट बाली घुम्न आउने पर्यटकलाई लाबुअन बाजोको पनि भ्रमण गरी नयाँ अनुभव बटुल्न आग्रह गर्नुहुन्छ ।

आगमनकै समयमा विमानस्थलमा भिसा पाइने भएकाले पनि आइएमई ट्राभल्ससमेतका दर्जनौँ नेपाली ट्राभल्स कम्पनीले पछिल्ला वर्षहरुमा इण्डोनेशियाको बाली, सिङ्गापुर, मलेशिया र थाइल्याण्डका लागि ‘टुर प्याकेज’हरु बनाएर लैजाने गरेको पाइएको छ । नयाँ गन्तव्यको भ्रमणबाट व्यक्तिगत मनोरञ्जनका साथै पूर्वी एशियाका मुलुकले पछिल्लो समयमा गरेका प्रगतिबाट नेपालको समृद्धिका लागि धेरै सम्भावना पहिल्याउन सक्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी