धरानमा नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा, यी दुई मध्ये को बन्छ मेयर ?

धरानमा नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा, यी दुई मध्ये को बन्छ मेयर ?

खानेपानीदेखि सर्दु-सेउती करिडोर निर्माण चुनावी एजेण्डा

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

धरान, ११ मंसिर ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी दिएका दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त छन् । प्रतिस्पर्र्धी दलका प्रत्यासीले धरानको विकास निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । धरानमा १२ राजनीतिक दल र ११ स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी दिएका छन् । नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने छ भने सङ्घीय समाजवादी र सङ्घीय लिम्बूवान मञ्चलगायतले उम्मेदवारी दिएका छन् । धरानमा प्रमुख र वडा नं–७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी हुनुभएको थियो । एकवर्ष अघि मिर्गौला रोगका कारण उहाँको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपाले प्रकाश राईलाई अघि सारेको छ भने नेपाली काँग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम९लिम्बू०लाई उम्मेदवार बनाएको छ ।

मुख्य एजेण्डा विकास निर्माण

दुई प्रतिस्पर्धी दल काँग्रेस र नेकपाले धरानको विकास निर्माणको भविष्यसँग जोडिएको स्वच्छ खानेपानी, व्यवस्थित बसपार्क, फोहर व्यवस्थापन, सुकुम्वासी समस्या, सर्दु र सेउती करिडोर निर्माणलगायत मुद्दा उठाएका छन् । स्थानीय तहको निर्वाचन भएयता धरानको विकास निर्माणको लागि सङ्घ प्रदेशबाट सवा अर्बको बजेट धरानलाई दिएकाले त्यो बजेट सदुपयोग गर्न र अघिल्लो नेतृत्वले थालेका योजना पूरा गर्न आफ्नो उमेदवारी भएको नेकपाको उम्मेदवार प्रकाश राईले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदका लागि प्रदेश १ को ‘हव’ बनाउन धरानको विकास निर्माणलाई तीव्रता दिने उहाँको भनाइ छ । नेकपाकै पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोको पालामा २०५४ सालदेखि शुरु भएको बसपार्कलाई स्थानीय, प्रदेश र सङ्घको लगानीमा कार्यान्वयन हुँदै गएको र खानेपानी योजना पनि पूरा हुने चरणमा रहेको उहाँले सुनाउनुभयो । “धरानलाई आधुनिक शहर बनाएर विकासको मोडेल अध्ययनस्थल बनाउछु”, घरदैलोमा भेटिएका नेकपाका प्रकाश राईले भन्नुभयो, “स्व तारा सुब्वाले शुरु गरेका गौरवको आयोजना पूरा गरेर धरानलाई समृद्धि शहर बनाउने मेरो सपना हो ।”

धरानले केन्द्रको बजेट पाउनका लागि सङ्घीयता नै पर्खिनु परेको बताउँदै यति बेला सङ्घ र प्रदेशले रु एक अर्ब २५ करोड बराबरको योजना दिएको उहाँले बताउनुभयो । यता काँग्रेसका उम्मेदवार तिलक राईले स्थानीय तहमा देखिएको बेथितिले उपमहानगरका गौरवका आयोजना पूरा हुन नसकेकाले त्यस्ता बेथितिलाई रोक्न नेतृत्व परिर्वतन आवश्यक भएको बताउनुभयो । उहाँले जनताको घरदैलोमा हाल उपमहानगरमा बेथिति भएको र कर अत्याधिक बढाएको विषयलाई मुद्दा बनाएका छन् ।

२३ जनाको उम्मेदवारी

विसं २०७५ साउन १ मा प्रमुख तारा सुब्बाको दुवै मिर्गौला फेल भएर उपचारका क्रममा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । प्रमुखमा ११ दल र विभिन्न स्वतन्त्र गरेर २३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै वडा नं–७ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । धरान उपमहानगरपालिका–७ को वडाध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा सदस्यबाट राजीनामा दिएर नेकपाबाट जीवनराज सुवेदीले उम्मेदवारी दिएका छन् । यस्तै काँग्रेसबाट सुवर्णमोहन पालिखे, सङ्घीय लिम्बूवान मञ्चकी नीता राई, राप्रपाका दिनेश शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनको अङ्क गणित

अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी हुनुभएको थियो । नेपाली काँग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । यस पटक पनि काँग्रेसले राईलाई नै अघि सारेको छ । साविक माओवादी केन्द्रले ११ हजार १८० ल्याएको थियो । सङ्घीय समाजवादी पार्टीले उपप्रमुख मात्र उठाएको थियो । उपप्रमुखमा ५ हजार १८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको मतदाता सङ्ख्या ७९ हजार २९० रहेको छ । यो वर्ष १३ हजार ५६३ थपिँदा ९२ हजार ८५३ मतदाता पुगेका छन् । आगामी मङ्सिर १४ को धरानको उपनिर्वाचनमा मतदाता सङ्ख्या ९२ हजार ८५३ छ । २०७४ असार १४ को २०७४ को स्थानीय तहको चुनावमा भएको मतदाता सङ्ख्याभन्दा यो १३ हजार ५५६ बढी हो । धरानमा उपप्रमुखसहित १६ वटा वडामा नेकपाले र काँग्रेसले ४ वटा वडामा जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ