काठमाडौं, ११ मंसिर ।
उपनिर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्ने कसरतमा रहेका प्रमुख दलहरु आज पनि चुनावी प्रचारप्रसारमा सक्रिय भएका छन् ।
मौनअवधि सुरु भएपछि प्रसारप्रसार गर्न नपाइने भएकाले पनि दलका शिर्ष नेताहरु नै आज चुनावी सभा तथा प्रचारप्रसारमा सहभागी हुँदै छन् । आज राति१२ बजे देखि मौन अवधि सुरु हुनेछ ।
सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्। कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हँुदै छ।
सत्तारुढ तथा प्रतिपक्षी दलहरूले आज भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन्। नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आज भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्दैहुनुहुन्छ । भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ । सभामा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले पनि सम्बोधन गर्नुहुनेछ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ
उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन्। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्।
आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।
शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगका प्रवक्ता नरेन्द्र दाहालले बताउनु भयो ।